कतै भत्ता, कतै हात रित्तो



हेटौंडा, (नेस) ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकाले पालिकाभित्र कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको छ । सरकारी निर्णयभन्दा अघि नै पालिकाले उक्त निर्णय गरेको हो ।

पालिकाले कोभिड–१९ संक्रमितको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताबापत् क्रमशः ५० र २५ प्रतिशत उपलब्ध गराउने निर्णय भएको थाहा नगरपालिकाले जनाएको हो । पहिलो लाइनमा खटिनेले ५० र सचिवालयमा रहेर काम गर्नेहरुलाई २५ प्रतिशत् भत्ताको निर्णय भएको छ ।

थाहा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा खटिने ७२ स्वास्थ्यकर्मी छन् तीमध्ये कोभिडतर्फ खटिने करिब १५ स्वास्थ्यकर्मीले उक्त भत्ता पाउनेछन् । उनीलाई पहिलो चरणको कोरोना कहरमा खटिए वापत् पनि तह अनुसार भत्ता उपलब्ध गराइएको पालिका स्वास्थ्य विभाग इञ्चार्ज मेघराज बलामीले बताउनुभयो ।

बागमती गाउँपालिका प्रमुख सर्केश घलानले सबै स्वास्थ्यकर्मीलाई भत्ता उपलब्ध गराइएको जानकारी दिनुभयो भने भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनाम थिङले ५२ स्वास्थ्यकर्मीलाई ४० प्रतिशत भत्ता उपलब्ध गराइसकिएको बताउनुभयो ।
अन्य पालिकामा कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई भत्ता उपलब्ध गराइँदा उपमहानगर हेटौंडाका स्वास्थ्यकर्मी भने भत्ताबाट बञ्चित भएका छन् । पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा रहेको हेटौंडामा कार्यरत् स्वास्थ्यकर्मी भने भत्ताबाट बञ्चित भएका छन् ।

हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागार्इंले नगरभित्र ९२ जना स्वास्थ्यकर्मी कार्यरत् रहेको जानकारी दिनुभयो । कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्नेहरुले भत्ता पाएको तर वडा कार्यालयमा बसेर काम गर्ने स्वास्थ्यकर्मीले भने पाउन नसकेको उहाँले बताउनुभयो । ‘लकडाउन अवधिभर काम गरेका हौं । हामी पनि परिवार नभनी ज्यान जोखिममा राखेर काम गरेका हौं । तर हामीले भत्ता पाउन सकेनौं,’ एक स्वास्थ्यकर्मीले बताए ।

सरकारले गत वर्ष कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई भत्ता दिने निर्णय गरेर मन्त्रिपरिषद्को आदेशअनुसार कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत्, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत् र त्यसभन्दा बाहिर हुने तर कोरोनाविरुद्ध खटिएकालाई ५० प्रतिशत्का दरले भत्ता उपलब्ध हुने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्