शव बोकेको जिप दुर्घटनामा पाँचको मृत्यु



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीमा चट्याङ लागी मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय जित सिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र जिप चालक तेजबहादुर बोहरा रहेका छन् ।

जिप चालक बोहराको उपचारका लागि अस्पताल ल्याउँदैै गर्दा मृत्यु भएको हो भने अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से१ज १८३ नम्बरको जिप मंगलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको हो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको उक्त जिप दुर्घटनामा परेको हो ।

जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ । साँघुरो घुम्तीमा मोड्न नसक्दा ब्याक गर्दा जिप दुर्घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्