कोरोना संक्रमणबाट नवलपरासीमा २ जनाको मृत्यु



न्युज अफ नेपाल, नवलपरासी ।

पूर्वी नवलपरासीमा सोमबार २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली १३ का ६८ वर्षिय पुरुष र धादिंग जिल्ला घर हुने ८३ वर्षीया बृद्धा रहेको बताइएको छ । बृद्धालाई भरतपुरमा परीक्षण गर्दा कोरोना देखिएको र त्यहां बेड नपाउदा मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी पूर्व डण्डा ल्याईएको थियो ।

यसरी नै ६८ वर्षीय पुरुष भने कोरोना संक्रमणका कारण होम आईसोलेसनमा रहेका थिए । सोमबार दिउसो स्वास प्रस्वासमा समस्या भए पछि एम्बुलेन्स नपाउदा टेक्करमा हालेर अस्पताल पुर्याउनै वित्तिकै उनको ज्यान गएको थियो । देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीका अनुसार मृतक ६८ वर्षीय पुरुषलाई आफ्नै परम्परा अनुसार नारायणी नदी किनारमा लगि दाहसंस्कार गरेर शव ब्यवस्थापन गरिने तयारी भएको छ ।

कोरोनाको दोश्रो भेरियन्ट आए संगै जिल्ला एकै दिन दुई जनाको मृत्यु भएको यो पहिलो घटना हो । यसै वीच कोरोना संक्रमणले देशभर तिव्रता लिईरहदा पूर्वी नवलपरासीको गैडाकोटमा भेटिएका अधिकांश संक्रमितहरु विवाह, पार्टी र सामुहिक भेलाका सहभागि रहेकाछन् ।

छिमेकी ठूला बजार र मठमन्दिरमा आयोजित विहे पार्टीमा पुगेकाहरुमा संक्रमण फैलिएको र यो संख्या दिनहूं २० देखि २२ जनाको दरमा बृद्धि भईरहको नगर स्वास्थ्य प्रमुख झलक पौडेलले बताउनु भयो । पौडेलका अनुसार कतिपय मानिस कोरोनाको खोप लगाई सकेकोले केही हुदैन भन्दै ढुक्क भएर भिडभाडमा पुग्दा उनिहरुमा पनि संक्रमण देखिएको छ ।

कोरोनाको दुबै डोज लगाएका २ र एक डोजका ५ जना संक्रमित भेटिएकाछन् तर उनीहरुमा गंभिर समस्या नदेखिएको पौडेलले बताउनु भयो । पौडेलका अनुसार पछिल्लो दश दिन यतामात्रै गैडाकोट नगरपालिकामा १ सय ११ जनामा संक्रमण देखिई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्