ग्रामीण बस्तीमा हेलिप्याड



रसुवा, नेस
आपत्कालीन अवस्थालाई मध्यनजर गरी ग्रामीण बस्तीमा हेलिप्याड बनाइएको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत रसुवाको दक्षिणी भेगमा पाँचवटा हेलिप्याड निर्माण भएका छन् ।

नयाँ बनेका हेलिप्याडमा कालिका गाउँपालिका–२ कालिकास्थान र सोही गाउँपालिका–४ र ५ जिवजिवे रहेका छन् । जिवजिवेको हेलिप्याड प्रदेश सरकार र कालिका स्थानको हेलिप्याड स्थानीय सरकारको आर्थिक सहयोगबाट तयार भएका कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले बताउनुभयो ।यसै गरी, नौकुण्ड गाउँपालिकाअन्तर्गत सरमथलीडाँडा, पारच्याङको मुनि फाम्चेत लारच्याङटारमा हेलिप्याड निर्माण भएको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घले बताउनुहुन्छ । ती हेलिप्याडमा परीक्षण उडान गराउन बाँकी छ ।

घनाबस्ती रहेको भोर्ले, रूप्सेपानी तथा घडेरीडाँडा, लहरेपौवा, डाँडागाउँ एवं ठूलोगाउँमा हेलिप्याड निर्माण गर्ने योजना अझै बन्न सकेको छैन । उत्तरगया क्षेत्रमा आपत्कालीन अवस्थाका लागि भने बेत्रावतीस्थित फलाखुखोलाको बगरमा हेली अवतरण गराउने गरेका छन् ।गोसाइँकुण्डले भने आफ्ना ६ वटै वडाअन्तर्गत धुञ्चे, स्याफ्रु, लाङ्टाङ, बृद्विम, टिमुरे, थुमन, क्षेत्रमा हेलिप्याड निर्माण गर्ने कार्य योजना बनाएको उक्त गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्