डोटीमा ट्राफिक प्रहरीको ‘खोइ मास्क’ अभियान !



विमल विष्ट डोटी, 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिपायलले जिल्लामा‘खोई मास्क’ अभियान सञ्चालन गरीरहेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर बढ्न थालेको तथा बिना मास्क यहाँका नागरिकहरु बजार हिँडडुल गर्न थालेपछि उक्त अभियान सञ्चालन गरेको हो ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण दोश्रो चरणमा फैलिईरहेको अवस्थामा आम नागरिकलाई सचेतना फैलाउन ट्राफिक प्रहरीले ‘खोई मास्क’ अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक अशोक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कोरोना सङ्क्रमण दर बढ्दै छ, त्यसैमा झन यहाँका नागरिकहरु बिना मास्क बजार घुम्न थालेपछि हामीले ‘खोई मास्क’ अभियान चलाएका छौँ, मास्क नभएका लाई बितरण पनि गर्दैछौँ ।”पछिल्लो केही दिन यतादेखि ट्राफिक प्रहरीले मास्क नलगाएका सवारी चालक, यात्रामा सवार मानिसहरु, बजारमा हिँडडुल गरिरहेका मानिसहरुलाई लक्ष्यित गरी ‘खोई मास्क’ अभियान सञ्चालन गरिरहेको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा सञ्चालन गरिरहेको सो अभियान अन्तरगत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न परामर्श, प्ले कार्ड प्रदर्शन, माइकिङ्ग लगाएतका क्रियाकलापका माध्यमबाट सचेतना फैलाउने काम भईरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सम्म यहाँका एक हजार भन्दा बढी नागरिकलाई कोरोनाबाट बच्न बिभिन्न जानकारी दिइनुका साथै त्यतिकै सङ्ख्यामा मास्क समेत बितरण गरिएको छ । जिल्लामा वैशाख महिनाको ५ गतेदेखि १६ गतेसम्ममा कम्तिमापनि १०० जनामा कोरोना भाईरस सङ्क्रमण देखा परेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धबबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्