रियल मेड्रिडको जित



लन्डन, (एजेन्सी)

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको दोस्रो स्थानको रियल मेड्रिडले जितको नतिजा निकालेको छ ।
शनिबार राति भएको लिगको ३४औं साताको खेलमा रियल मेड्रिडले पाहुना टोली ओसासुनालाई २–० गोल अन्तरले हराउँदै उपाधि होडमा आफूलाई कायमै राखेको हो । आफ्नो घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा भएको खेलमा रियललाई गोल गर्न ठूलै संघर्ष गर्नुपरेको थियो । खेलको ७५औं मिनेटसम्म रियल गोलविहीन थियो । तर, त्यसपछि भने चार मिनेटको बीचमा दुई गोल गरेर खेल नै जित्यो ।

लिग लिडर एथ्लेटिको मेड्रिडमाथि दबाब बनाइराख्न रियलका लागि यो जित अति नै आवश्यक थियो । रियलका लागि दुवै गोल ब्राजिलियन खेलाडीले गर्न सफल भए । खेलको ७६औं मिनेटमा पहिलो गोल डिफेन्डर इडर मिलिटाओले गरेका थिए । उनले सब्स्टिच्युट खेलाडी इस्कोको पासमा डीबक्स भित्रबाट हेडिङ प्रहारमा दर्शनीय गोल गरेका थिए । गोलपोस्टको माथिल्लो कुना च्यापेर कठिन कोणबाट उनले हानेको हेडिङ प्रहार ओसासुनाका किपरले रोक्ने मौका नै पाएनन् ।

सो गोलपछि थप आक्रमण बढाएको रियलले त्यसको तीन मिनेटपछि नै अग्रता दोब्बर बनायो । यसपटक ब्राजिलियन मिडफिल्डर कासेमिरोले गोल गरे । करिम बेन्जेमाको असिस्टमा उनले ओसासुनाका गोलकिपरले गोलपोस्टबाट टाढा रहेको अवस्थाको फाइदा उठाएर चलाखीपूर्वक अगाडि प्रहार गरेको गोल सोझै गोलमा परिणत भएको थियो । यो जितपछि रियल मेड्रिडले ३४ खेलबाट कुल ७४ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्