एकै टोलका तीन बालक मृत भेटिएपछि गाउँ शोकमग्न



नरेन्द्र केसी, घोराही

दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँका तीन बालक हराएपछि टोलमा खैलाबैला भयो । उनीहरु कतै फेला नपरेपछि प्रहरीलाई जानकारी गराइयो । हराएको तीन दिनपछि शनिबार राति ती बालकको शव एउटा कारमा भेटिएपछि गाउँ यति बेला शोकमा डुबेको छ ।स्थानीय भीमबहादुर परियारका ९ वर्षका छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ वर्षका छोरा करण परियारको एउटा पार्किङ गरिएको कारभित्र शव भेटिएको हो ।

एउटै टोल र समुदायका बालकहरु मृत भेटिएपछि गाउँ शोकमग्न भएको स्थानीयले बताएका छन् । छोरा करणको निधनपछि विक्षिप्त भएका कृष्ण परियारले आफूहरुको सर्वश्व गुमेको बताउनुभयो । पीडित परिवार र आफन्तले सत्यतथ्य छानविन गर्न प्रशासनसँग माग गरेका छन् । घटना रहस्यमय तरिकाले भएको भन्दै सत्यतथ्य छानविन गरी दोषीको छिटै पहिचान गर्नुपर्ने उनीहरुको माग छ ।वैशाख १६ गते घरबाट एकैसाथ सम्पर्कविहीन भएका तीन बालक तुलसीपुर–६ स्याउलीबजार पश्चिमतर्फ भित्री बस्तीमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेड गाडीभित्र मृत अवस्थामा शनिबार साँझ फेला परेका थिए । पार्किङ गरेर राखिएको गाडीनजिक एक गाडी राख्ने क्रममा सो गाडीका चालकले गन्ध आएको महसुस गरेर स्थानीयलाई खबर गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेर हेर्दा कारमा शव भेटिएको थियो ।

गाडीभित्र पछाडिको सिटमा एक जना बालक र सिटमुनि दुई जना बालक घोप्टो परेको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार दुई जना बालकको शरीरमा कुनै कपडा छैन भने एक जना बालक अर्धनग्न अवस्थामा भेटिएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले कार धनी यादवप्रसाद गैरे रहेको पत्ता लागेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनुभयो ।

एक प्रहरी अनुसन्धान अधिकृतका अनुसार कारधनी गैरेले कार केही दिनदेखि पार्किङमा रहेकाले त्यसमा भेटिएका बालकको बारेमा केही जानकारी नभएको बताएका छन् । ती प्रहरी अधिकारीले पनि खासै बाहिरी चोट नदेखिएकाले बालकहरु खेल्ने क्रममा कारमा चढेको र त्यसपछि ढोका नखुल्दा निसासिएर मरेको हुन सक्ने बताए । तर, पीडित पक्षले भने रिमोटबिना नखुल्ने कारमा बालक त्यत्तिकै नचढ्ने र कसैले हत्या गरेरै फालेको हुन सक्ने दाबी गरेका छन् । पोस्टमार्टमपछि विस्तृत अनुसन्धान शुरू गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्