५० शैय्याको आइसोलेसन शुरु गर्दै ललितपुर महानगरपालिका



नेपाल समाचारपत्र, ललितपुर 

ललितपुर महानगरपालिकाले आज सोमबारदेखि चिकित्सक, नर्स र अक्सिजन कन्सन्टे«टर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको आइसोलेसन सेन्टर शुरु गर्ने भएको छ ।ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको अध्यक्षमा आइतबार बसेको बैठकले नेपाल युथ फाउन्डेसनको पोषण पुनःस्थापना गृहमा ५० शैय्याको आइसोलेसन सेन्टर शुरु गर्ने निर्णय गरेको हो ।

नेपाल युथ फाउन्डेसन, पाटन अस्पताललगायत अन्य रिफरल अस्पताल र महानगरबीच सोमबार त्रिपक्षीय सम्झौता गरी औपचारिकरूपमा आइसोलेसन सेन्टर शुरु गर्ने महानगर प्रमुख महर्जनले बताउनुभयो ।अघिल्लो वर्ष उक्त गृहमा महिला र बालबालिकाका लागि क्वारेन्टिन सञ्चालन गरिएको थियो । पोषण पुनःस्थापना केन्द्र महानगरको वडा नं २६ स्थित सुनाकोठीमा रहेको छ ।यसै गरी, महानगरको वडा नं ४ बागडोलस्थित ज्यापु समाजको १ सय १० शैय्याको वृद्धाश्रम पनि आइसोलेसन सेन्टरका लागि तयार अवस्थामा रहेको छ । नगर प्रमुख महर्जनले नगरवासीको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै कोभिडको दोस्रो लहरबाट नागरिकलाई जोगाउन महानगरले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ज्यापु समाजसँग पनि छलफल भइरहेको छ, त्यहाँ अहिले जेष्ठ नागरिक बस्नुभएको छैन, आवश्यक पर्नेबित्तिकै वृद्धाश्रम प्रयोग गर्न सकिन्छ ।’ उहाँले महानगरले सञ्चालन गरेका आइसोलेन सेन्टर उत्कृष्ट हुने दाबी गर्दै कोभिड पोजेटिभले उत्कृष्ट सेवा प्राप्त गर्ने बताउनुभयो ।

उपप्रमुख गीता सत्यालले नागरिकको स्वास्थ्य र सुरक्षा महानगरको पहिलो प्राथमिकता भएको बताउँदै निजी अस्पतालसँग पनि महानगरले छिट्टै छलफल गर्ने तयारी गरेको जानकारी दिनुभयो ।बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरको स्रोत र साधनले भ्याएसम्म आइसोलेसन सेन्टरलाई सुविधा सम्पन्न बनाउने बताउनुभयो ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत लीलाराज आचार्यले कोभिडका बिरामीले अस्पतालको शैय्या भरिएको बताउनुभयो । उहाँले पाटन अस्पतालले कोभिड बिरामीका लागि ५० शैय्या थप्ने तयारी गरेको जानकारी दिनुभयो ।ललितपुर महानगरले आइसोलेसन सेन्टरमा मेडिकल कन्सल्ट्यान्ट, दुई जना मेडिकल अफिसरकोे व्यवस्था गर्ने ललितपुर महानगर कोभिड फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिनुभयो । नेपाल युथ फाउन्डेसनका अध्यक्ष सोम पनेरूले यो आइसोलेसन सेन्टरलाई कोभिड पोजेटिभ देखिएका बिरामीलाई अस्पताल जानुपर्ने अवस्था आउनु अघिसम्म र अस्पतालको उपचारपछि पूर्णरूपमा निको हुनुभन्दा अघिको समयसम्म राख्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्