राष्ट्रिय सभाका पूर्वसदस्य पौडेलको निधन



काठमाडौं, (नेस)

राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाली कांग्रेसका नेता प्राध्यापक विदुर पौडेलको ७७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ ।
नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व. पौडेल २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

राजनीतिकका साथै शैक्षिक एवं सामाजिक क्षेत्रमा उहाँको अतुलनीय योगदान रहेको छ । लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गर्नुभएका स्व. पौडेल नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिसमेत रहनुभएको थियो । स्व. पौडेल पूर्वीय दर्शन र साहित्यका एक धरोहरका रूपमा परिचित हुनुहुन्थ्यो ।उहाँको निधनले नेपाली कांग्रेस पार्टी र शैक्षिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ । नेता पौडेलको निधनप्रति नेपाली कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद पौडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले शोक सन्देशमार्फत पौडेलको निधनको खबरले दुःख लागेको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले उहाँको निधनले कांग्रेस र मुलुकले एक असल नेता र बौद्धिक व्यक्तित्वलाई गुमाएको बताउनुभयो ।यसै गरी, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि शोक सन्देशमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्