नमोबुद्धमा २५ शैयाको आइसोलेसन बन्ने



मोतीराम तिमल्सिना, काभ्रे ।

भकुण्डेबेशी–महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नमोबुद्ध नगरपालिकामा २५ शैयाको आइसोलेसन वार्ड स्थापना हुने भएको छ ।

नमोबुद्ध नगरपालिका ४ मा रहेको जनक बहुमुखी क्याम्पसमा नगरपालिकाले आइसोलेसन वार्ड स्थापनाको तयारी अघि बढाइएको हो । प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालसँगै जोडिएको आइसोलेसन वार्ड स्थापनाका लागि तयारी सुरु भइसकेको र केही दिनमै वार्ड स्थापना गरी सञ्चालनमा ल्याइने नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिएका छन् ।

बिहीबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), नगर प्रमुख टिपी शर्मा तिमल्सिना, मेथिनकोट अस्पतालको व्यवस्थापन तथा स्वास्थ्यकर्मी, जनक बहुमुखी क्याम्पस व्यवस्थापन समिति एवं क्याम्पस प्रमुख सहितको टोलीले आइसोलेसन स्थापना गर्ने स्थानको अबलोकन गर्दै आवश्यक तयारी सुरु गर्ने निर्णय गरेको थियो । यसअघि गत बर्ष पनि नमोबुद्ध नगरपालिकाले जनक बहुमुखी क्याम्पस हातामै आइसोलेसन एवं क्वारेन्टाइन सञ्चालन गरेको थियो ।

यस बर्ष डिसिसिएमसीले कोभिड १९ का बिरामीको उपचारका लागि धुलिखेल र शिर मेमोरियल अस्पतालसँगै मेथिनकोट अस्पताललाई पनि चयन गरिसकेको छ । बिहीबारसम्ममा नमोबुद्ध नगरपालिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८ रहेको छ । आठै जना अहिले होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्