सिटीको पुनरागमन जित



लन्डन, (एजेन्सी)

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ ।बुधबार राति भएको सेमीफाइनलअन्तर्गत पहिलो लेगको खेलमा सिटीले फ्रेन्च ‘क्लब पेरिस सेन्ट जर्मेन’ पीएसजीलाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले हराएको हो । पीएसजीको घरेलु मैदान ‘पार्क डेज प्रिन्सेज’ रंगशालामा भएको खेलमा पीएसजीले शुरूवाती अग्रता लिए पनि सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि कमब्याक जित हात पार्न सफल भयो । पीएसजीलाई उसैको घरेलु मैदानमा दुई अवे गोल गरेर हराउँदा सिटीले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

पीएसजीले खेलको १५औं मिनेट सिटीविरुद्ध अग्रता लिएको थियो । एन्जल डी मारियाले डी–बक्सभित्र निकै राम्रो असिस्ट गरेको बलमा कप्तान माक्र्विनहसले हेडिङमार्फत् दर्शनीय गोल गरेका थिए । सो गोल बेहोरेपछि चर्को दबाबमा परेको सिटीलाई खेलमा फर्कन खेलको ६४औं मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । सिटीका लागि केभिन डे ब्रुयेनेले बराबरी गोल फर्काएका थिए । त्यसपछि सिटीले केही मिनेटको अन्तरमा दोस्रो गोल गरेर अग्रता बनायो । खेलको ७१औं मिनेटमा रियाद महारेजले फ्री–किकमार्फत् निकै शानदार गोल गरे । उनले हानेको फ्री–किक प्रहारले मानवीय पर्खाल छिचोल्दै जाली चुमेको थियो । पीएसजीका गोलकिपर केयलर नाभासले त्यसलाई रोक्न प्रयास गरे पनि सफल हुन सकेन ।

घरेलु टोली पीएसजी खेलको ७७औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । सिटीका मिडफिल्डर इकाए गुन्डोवानमाथि खराब फाउल गरेको भन्दै रेफ्रीले पीएसजीका मिडफिल्डर इड्रिसा गुएइलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । त्यसपछि पीएसजी १० खेलाडीमा समेटियो । दुई गोल बेहोरेको अवस्थामा एक खेलाडी गुम्दा पीएसजी दबाबमा परेको थियो । अन्ततः पीएसजी खेलमा फर्कन सकेन । पहिलो लेग अवे मैदानमा दुई गोलले जितेपछि अब सिटीलाई दोस्रो लेगमा सहज हुने भएको छ । अर्को साता आनो घरेलु मैदानमा दोस्रो लेग खेल्दा सिटी १–० ले हारे पनि अवे गोलका आधारमा फाइनल प्रवेश गर्न पर्याप्त हुनेछ । तर, पीएसजीलाई भने फाइनल पुग्नका लागि कम्तीमा २–० को जित आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्