लापरवाहीले जोखिममा काभ्रेपलाञ्चोक : ‘सेमी’ लकडाउनको तयारी



मोतीराम तिमल्सिना, काभ्रे ।

उपत्यका तथा तराईका जिल्लाहरुसँग सडक सञ्जाल जोडिएको काभ्रेपलाञ्चोक जिल्ला कोरोना भाईरसको उच्च जोखिममा रहेको छ । विहिबार देखि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै गाउँ जानेहरुको भिड बढेको छ । सक्रमण फैलन नदिन स्थानीय प्रशासन ‘सेमी लकडाउन’को तयारीमा जुटेको छ । ‘सेमी लकडाउन कि पुरै लकडाउन’ विहिबार बस्ने बैठकले निर्णय गर्ने छ ।

सरकारले पहाडी जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित भए पछि आवश्यकताका आधारमा स्थानीय प्रशासनले लकडाउन गर्न सक्ने निर्णय गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा २ सय १ सक्रिय संक्रमित पुगेकाले लकडाउन हुने सम्भावना रहेको भन्दै सर्वसाधारणहरु थप संक्रमण हुन नदिन समयमै प्रशासन सचेत हुनु पर्ने बताउँछन् ।

‘सक्रिय संक्रमितको संख्या २ सय नाघे पनि अस्पतालमा भर्ना हुनेको संख्या बुधबारसम्म ५ जना मात्रै छन्’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘तत्काल लकडाउन हुने सम्भावना छैन, भिडभाड नियन्त्रण गर्न र संक्रमण फैलन नदिन हामी सचेत छौं । भोलीबाट उपत्यकामा लकडाउन भएसँगै जिल्लामा पनि सेमी लकडाउन हुनेछ ।’

सेमी लकडाउनमा विद्यालय तथा संक्रमण फैलन गरी भिडभाड नगर्न पाटी प्यालेस बन्द गर्ने, भोजभतेर नगर्ने, भिडभाड हुने कार्यालयमा पालिका अनुसार फरक फरक दिन सेवा उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो । नागरिकहरुले जिल्लालाई लकडाउन गरी संक्रमण फैलन रोक्नु पर्ने सुझाव दिएका छन् ।

‘मंगलबार राति कोरोना भाईरसका कारण संक्रमित भएका ब्यक्तिको सम्र्पकमा आएका २४ जनाको स्वाव परिक्षणमा १७ जनामा संक्रमण देखियो’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘थप संक्रमितको सम्भावना देखेर बुधबार दिउसो २३ जनाको स्वाव संकलन गरिएको छ ।’ पनौती नगरपालिका वडा नम्वर १० मा विवाहको भोजमा सहभागिहरुमा संक्रमण देखिएसँगै दैनिक विवाह भोजमा सहभागि हुनेहरु त्रसित भएका छन् ।

घरमै आयोजना गरिएको उक्त भोजमा विभिन्न स्थानबाट आफन्तहरु सहभागि भएका थिए । जोखिमको अवस्था हेरेर आवश्यकता अनुसार स्वाव संकलनको कार्य गरिरहेको पनौती स्वास्थ्य शाखाका प्रमुख पुरुषोतम तिमल्सिनाले जानकारी दिनु भयो । संक्रमितहरु मध्ये एकजना गम्भिर भएकाले जिल्लाका अस्पतालहरुमा भेन्टिलेटर अभाव भएकाले काठमाडौ रिफर गरी उपचार गरिदै छ ।

बुधबार मात्रै जिल्लामा ५० नयाँ संक्रमित थपिएका छन् । बसमा खचाखच यात्रुहरुको भिड, दैनिक हुने भोजभतेर, छरपस्ट बजारमा असुरक्षा तथा न्युन अनुगमनका कारण संक्रमण दर फैलदै गएको छ । अघिल्लो वर्षको तुलनामा नाकाहरुको चेकजाँच तथा नागरिकहरुको भिडभाड नियन्त्रण गर्ने प्रशासनको तयारी कम भएको नागरिकहरुको गुनासो छ । प्रशासनले संक्रमण रोक्न कडा निर्णय र कदम नचाल्दा राजमार्गबाट दैनिक हुने आवागमन र नाकाहरुको खुल्ला प्रवेशले संक्रमण फैलने छ । यसै विषयमा निर्णय गर्न जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठक विहिबार बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्