पाल्पामा पनि एक साता निषेधाज्ञा



न्युज अफ नेपाल, पाल्पा । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ गते राती देखि २४ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार डिसीसीएमसीको बुधबार बसेको बैठकले बढ्दो कोरोना संक्रमण रोकथामको लागि यहि बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बैठकले अत्यावश्यक सवारीसाधन, तरकारी, दुध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई भने सञ्चालन गर्न दिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाईने छैन ।

अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने बताइएको छ । निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु संचालन हुन पाइनेछ ।

पाल्पामा अहिलेसम्म एक सय ९८ सक्रिय संक्रमित पुगेका छन् भने १६ जना अस्पतालमा उपचार भइरहेको र ३९ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्