ट्विटर काण्डप्रति जनता आक्रोशित



नयाँदिल्ली, (एजेन्सी) । 

सरकारले सामाजिक सञ्जाल ट्विटरलाई कोरोना भाइरस महामारी समस्या नियन्त्रण तथा रोकथामसम्बन्धी सरकारी कदमको आलोचना गरिएका पोस्टहरू हटाउन आदेश दिएकोमा भारतका लाखौं जनताले आक्रोश व्यक्त गरेका छन् । ट्विटरका प्रवक्ताले आफूहरूले भारतमा प्रयोगकर्ताहरूबाट हेरिंदै गरेका केही सामग्रीलाई ब्लक गरिसकेको जानकारी दिएका छन् । महामारी चरमचुलीमा पुगेको भारतका थुप्रै अस्पतालमा अहिले अक्स्जिन सिलिन्डरको ठूलो अभाव रहेको छ ।

एकजना ट्विटर प्रयोगकर्ताले सरकारलाई अक्सिजन आपूर्ति सहज गर्न छाडेर टिवटरका पोस्ट हटाउन लागि परेको आरोप लगाएका छन् । भारत सरकारले ट्विटरको ट्विटहरू सेनसर गर्न आपतकालीन आदेश दिएको हो । तर, ट्विटरले कुन कुन सामग्री हटाइएको हो भन्ने स्पष्ट जानकारी भने दिएको छैन ।पश्चिम बंगालका एकजना राजनीतिज्ञले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोभिड–१९ मृत्यु सम्बन्धमा प्रत्यक्ष जिम्मेवार रहेको आरोप लगाएका थिए । साथै, एकजना चलचित्र अभिनेताले पनि मोदीले राजनीतिक-यालीहरू आयोजना गरेको कारण भाइरस तीव्र गतिमा फैलिएको आरोप लगाएका थिए ।यसैबीच, मंगलबार भारतमा ३ लाख २३ हजार १ सय ४४ भन्दा बढि संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

साथै, मृतकको संख्या पनि अघिल्लो दिनको तुलनामा बढ्नुका साथै मुलुकभरिको स्वास्थ्य उपचार तथा स्याहार प्रणाली करिब धराशायीको स्थितिमा पुगेको सरकारी सूत्रले जनाएको छ ।मंगलबार भारतको कुल कोरोना संक्रमितको संख्या १ करोड ७६ लाख नाघेको छ । संख्याको हिसाबमा भारत संयुक्त राज्य अमेरिकापछि विश्व सूचीमा दोश्रो स्थानमा परेको छ । यसैगरी, स्वास्थ्य मन्त्रालयले विगत चौबिस घन्टामा थप २ हजार ७ सय ७१ जनाको ज्यान गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्