सरकारी अस्पताललाई सर्वसाधारणमैत्री बनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन



न्युज अफ नेपाल, काठमाडौं ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको आजको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिनुभएको हो । असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरुले निकै ठूलो राहत पाउने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेल सोमबार बाँसबारीस्थित गंगालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ५ अन्तरगत पर्ने टिचिङ अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गर्नुभएको थियो ।

निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्वता अनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरु दिन उपप्रधानमन्त्री पोखरेलले आग्रह पनि गर्नुभयो । छलफलमा काठमाडौं क्षेत्र नम्बर ५ का प्रदेश सभा सदस्य दीपक निरौला पनि सहभागी हुनुहुन्थ्यो । काठमाडौं क्षेत्र नम्बर ५ मा रहेका सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्