पेस्डान ब्याडमिन्टनमा विद्युत् च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल विद्युत् प्राधिकरण १२ औं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनतर्फ सोमबार टिम च्याम्पियन बनेको छ ।विद्युत् प्राधिकरण ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित कुल ९ पदक जित्दै टिम च्याम्पियन बन्यो । सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा मुक्तिनाथ विकास बैंक १ स्वर्णसाथ दोस्रो स्थानमा रह्यो । १ रजत र १ कांस्य जितेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड तेस्रो स्थानमा रहेको थियो । प्रतियोगितामा ६ स्पर्धा समावेश गरिए पनि आयोजक पेस्डानको आन्तरिक प्रतिस्पर्धाको पदक संख्या गणना गरिएको छैन ।

अन्तिम दिन सोमबार ६ वटै स्पर्धाका फाइनल सम्पन्न भएका थिए । पुरुष सिंगल्समा विद्युत् प्राधिकारणका टेकबहादुर बुढा पहिलो भए । फाइनलमा बुढाले जनक शिक्षाका रामविनय श्रेष्ठलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्सको उपाधि विद्युत् प्राधिकरणकी यमकुमारी गुरुङले चुमिन् । फाइनलमा यमकुमारीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडकी प्रतिज्ञा थापालाई २१–१२ र २१–७ को सिधा सेटमा हराइन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष डबल्समा मुक्तिनाथका थानेश्वर अर्याल र प्रेम थापाको जोडीले फाइनलमा विद्युत्का राजु महर्जन र लोकेन्द्रबहादुर साउदको जोडीलाई सोझो सेटमा २१–१२ र २१–१८ ले पाखा लगाउँदै स्वर्ण हात पारे । सोही स्पर्धाको महिला फाइनलमा विद्युत्का यमकुमारी गुरुङ र सानुमाया ठकुरीको जोडीले विद्युत्कै दावा लामा र अञ्जना रोक्काको जोडीलाई २१–१८ र २१–६ ले पन्छाउँदै पहिलो भए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विद्युत्का श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले विद्युत्कै उमेशकुमार भण्डारी र विष्णु मास्केको जोडीमाथि २१–१४ र २१–१९ को जित दर्ता गर्दै शीर्षस्थान हात पारे । पेस्डान पुरुष डबल्समा प्रदीपमान बासी र प्रशान्तबहादुर श्रेष्ठको जोडी पहिलो तथा राजु रानाभाट र रमेश कुँवरको जोडी दोस्रो भए । राजेश महत र रामबहादुर कुँवरको जोडीले तेस्रो स्थानमा चित्त बुझाए ।दुईदिने प्रतियोगितामा १२ संस्थाका ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पेस्डानको स्पर्धाबाहेक सबैमा नगद पुरस्कार राखिएको थियो । कुल १ लाख २२ हजार नगद पुरस्कार वितरण गरिएको पेस्डानका महासचिव रामविनय श्रेष्ठले जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्