खोप आयात गर्न दिन निजी क्षेत्रको माग



काठमाडौं, (नेस)

नेपाल उद्योग परिसंघले कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको परिप्रे्रक्षमा कस्तो तयारी गर्ने भन्नेबारेमा सुझाव दिएको छ । खोप आयातमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरु देशका खोपलाई फास्ट ट्रयाकमा अनुमति प्रदान गरी खोपलाई अभियानको रुपमा नेपालभर अगाडि बढाउने टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै परिसंघले आपूर्ति व्यवस्थालाई सुदृढ गर्नको लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरलाई खोपको व्यवस्था गर्न माग गरेको छ ।

त्यसैगरी अक्सिजनको आपूर्ति व्यवस्थालाई सहज बनाउन उद्योगहरुसँग समन्वय गरी अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन सरकारसँग परिसंघको आग्रह छ । निजी क्षेत्रले कोभिडको नियन्त्रण गर्न औषधि एवम् स्वास्थ्य उपकरण र खाद्य क्षेत्रमा कुनै खर्च गरेमा त्यसलाई सामाजिक उत्तरदायित्वको रुपमा लिएर आयकरमा छुटको व्यवस्था गरेमा कोभिडविरुद्धको युद्धमा सहभागी हुन निजी क्षेत्रलाई ऊर्जा प्रदान हुने परिसंघको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्