मास्क कसरी प्रयोग गर्ने ?



कोरोना संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढेको छ । पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नका लागि कोरोना भाइरसका बिरामी साथै अन्य व्यक्तिहरुलाई पनि मास्क लगाउन भनेको थियो । अस्पताल तथा स्वास्थ्यसंस्थामा चिकित्सक, स्वास्थ्यकर्मी सबैले मास्क प्रयोग गरेर नै बिरामीको जाँच गर्छन् । किनकि मास्कले रोग सर्नबाट रोक्न सक्छ ।

मास्कको सही तरिकाले प्रयोग गर्न नजानेमा यसको प्रयोग गरेको बेकार हुने गर्छ । सही तरिकाले प्रयोग नगर्दा संक्रमणबाट जोगिनुभन्दा पनि संक्रमण बढ्ने डर हुन्छ । मास्कको प्रयोग नयाँ अभ्यास होइन । कोरोनाको महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा लगभग सबैले मास्कको प्रयोग गर्ने गरेका छन् । तर कतिपय नेपालीले मास्कलाई सही प्रयोग गर्न जानेका हुँदैनन् । सही तरिकाले मास्क प्रयोग गर्न नजानेमा त्यसको उपयोगिताको अर्थ रहँदैन । त्यति मात्र होइन, सही तरिकाले मास्क प्रयोग नगरेमा त्यसले मुखको संक्रमण हुने जोखिमसमेत हुन्छ ।अहिले बजारमा विभिन्न प्रकारका मास्कहरु उपलब्ध छन्, कपडाको, सर्जिकल माक्स र धूलोविरुद्धको मास्क आदि । मास्कको अभाव हुँदै गएपछि कतिपय उत्पादकले जुटको मास्क, साधरण कपडाको मास्कसमेत बनाएर बिक्री गरेको देखिन्छ । तर चिकित्सकका अनुसार बजारमा भएका सबै मास्क सुरक्षित नहुन सक्छ । सर्जिकल मास्क, सिलकन प्रयोग गरेमा यसले सुरक्षित राख्न सक्छ । तर कुनै पनि मास्कले कोरोना पूर्णरुपमा छेक्न नसक्ने चिकित्सक बताउँछन् ।

जो व्यक्तिमा कोरोना प्रभावित भएको छ, उनीहरुले मास्क लगाएमा अरुलाई संक्रमण हुने सम्भावना कम हुन्छ । मास्क लगाइसकेपछि त्यसलाई बीचमा घरी–घरी निकाल्ने र हातले चलाउने गर्नुहुँदैन । प्रयोग गरेपछि निश्चित स्थानमा त्यसलाई राख्नुपर्छ । बालबालिकाले चलाउने ठाउँमा राख्नुहुँदैन । घरमा कुनै व्यक्तिमा मौसमी फ्लु या कोरोना संक्रमण भएको छैन भने मास्क लगाउनुपर्दैन तर मानिसहरुको भीड बढी हुने स्थानहरु फलफूल पसल, तरकारी बजार जाने क्रममा भने मास्कको प्रयोग गर्नु उचित रहेको चिकित्सकको सुझाव छ ।सामान्य काम गर्दा र आफू स्वस्थ छु भन्ने लागेमा मास्क लगाउनुपर्दैन । हामो मस्तिष्कमा मास्क अड्काउनेबित्तिकै सुरक्षित हुन्छु भन्ने सोंच बनेको छ ।

सर्जिकल मास्क एकदिन मात्र लगाउन व्यावहारिक हुने र एन–९५ लगायतका गुणस्तरीय मास्क सम्भावित संंक्रमित र संक्रमितको प्रत्यक्ष सम्पर्कमा आउँदा स्वास्थ्यकर्मीहरूद्वारा लगाइने सुरक्षा पोशाक (पीपीई) कै एउटा हिस्सा भएको बताइन्छ ।मास्क सामाजिक दूरीको विकल्प कदापि होइन । त्यसैले कोरोनाभाइरस संक्रमणबाट जोगिन एक–आएसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन् । तर देशका विभिन्न शहरहरूमा समेत सर्जिकल मास्कको अभाव देखिने गरेकाले नेपालमा कपडाले बनाइएका मास्क लगाउने प्रचलन बढेको पाइन्छ ।
– विपना मगर, थापाथली ।

प्रतिक्रिया दिनुहोस्