प्रविधि र बलात्कारको अन्तर्सम्बन्ध



नेपाली समाज आधुनिक ज्ञान, सीप, प्रविधि र वैज्ञानिक चमत्कारहरुको अलवा पनि रूपान्तरित हुन सकेको छैन । शिक्षामा अग्रगामी छलाङ मारी विकास गरे पनि संस्कारयुक्त शिक्षामा नेपाली समाज पछि परेको देखिन्छ । समाजमा घरलु हिंसा, बाल हिंसा, छुवाछूत, दलित हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता सामाजिक घटनाले पराकाष्ठा नै नाघेको देखिन्छ । पछिल्लो दशकलाई फर्केर हेर्दा समाजमा बलात्कारका घटना एकदमै बढेका छन् ।

बलात्कार भयो । घटना त सकियो, घटनामै मात्र कहाँ सीमित रहन्छ र यसको प्रभाव ? पितृसत्तात्मक समाजमा यो यातना बाचुन्जेल पटक–पटक मरेर बाँच्नुपर्दछ पीडितले । हत्या नभएर बाँचेका नारीलाई पनि हेर्ने छुटै ऐना छ नेपाली समाजमा । जहाँ बलात्कारीको नामनिशाना केही देखिँदैन, मात्र बलात्कृतको । उनीहरुको पुनस्र्थापना गर्न समाज, दोषी पक्ष, राज्य कसैले पनि दायित्व बहन नगर्नु अर्को अभिशाप हो । अझ बलात्कारपछि जन्मने अज्ञात सन्तान र त्यो नारीले जिन्दगीभर सहनुपर्ने पीडा त कहाली लाग्दो छ ।इन्टरनेटको दुरुपयोगका कारण बलात्कारका घटना बढिरहेका छन् । प्रविधिको विकासलाई सही तरिकाले प्रयोग गर्न नसक्दा महिला तथा बालिका हिंसाको सिकार हुनुपरेको छ । प्रविधिकै कारण यौनशोषण बढेको छ । केटाकेटीबीच भावनात्मक र अन्तरंग कुराकानी हुने, नजिकपना बढ्दै जाने, आपसमा विभिन्न कुरा साटासाट हुने, जब सम्बन्धमा खटपट शुरु हुन्छ त्यसपछि ब्याकमेलिङ गर्ने र यौनशोषण गर्ने प्रवृत्ति बढेको छ । यस्ता मुद्दा आयोगमा थुपैै्र आएका छन् ।

गतवर्ष बीबीसीमा पोर्नोग्राफी र बलात्कारसम्बन्धी एउटा रिपोर्ट प्रकाशित भएको थियो । विभिन्न अनुसन्धाताले गरेका अनुसन्धानका आधारमा तयार पारिएको उक्त रिपोर्टमा प्रशस्त द्विविधा देखिए । कतिपय अनुसन्धाताले पोर्नोग्राफी र बलात्कारबीच सम्बन्ध नरहेको बताए पनि कतिपयले भने गहिरो सम्बन्ध रहेको दाबी गरे ।युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानदाता नेल मालामुथले पोर्नोग्राफी र यौन हिंसाबारे झन्डै तीन सयजनामा गरेको अनुसन्धानको निचोड थियो– जोसँग पहिलेदेखि नै तीव्र यौनइच्छा छ र ऊ सेक्सका लागि जस्तोसुकै कदम उठाउन तयार हुन्छ, त्यस्ता व्यक्तिले पोर्नोग्राफी हेरे भने यौनजन्य अपराध गर्ने सम्भावना बढी हुन्छ ।
सोही रिपोर्टमा एक १७ वर्षीया बेलायती किशोरीलाई नियमित पोर्नोग्राफी हेर्ने ब्वाइफ्रेन्डले पोर्नस्टारको जस्तै कपडा लगाउन र उनीहरूको जस्तै व्यवहार गर्न दबाब दिने गरेको उल्लेख छ । अत्यधिक पोर्नोग्राफी हेर्नेहरू यौनकोे मामिलामा आफ्नो साथीसँग कम सन्तुष्ट हुने युनिभर्सिटी अफ वेस्टर्न ओन्टोरियोका अर्का अनुसन्धाता डोग्लास केनरिकले बताएका थिए । उनले सन् १९८९ मा यौनलाई केन्द्रित गरेर अनुसन्धान गरेका थिए । उनको अनुसन्धानको निचोड थियो– पोर्नोग्राफी हेर्ने डिभोर्ससम्म पुग्छन् ।

अमेरिकामा पोर्नोग्राफी हेर्न शुरु भएपछि डिभोर्स गर्नेहरू झन्डै दोब्बरले बढेको उनको अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको थियो । पुरुषहरू जति धेरै पोर्नोग्राफी हेर्छन्, त्यति नै आफ्नो महिला पार्टनरसँग असन्तुष्ट हुने विभिन्न अनुन्धानको निष्कर्ष उक्त रिपोर्टमा छ । त्यस्तै सन् २००२ देखि २००४ सम्मको अर्को अनुसन्धानलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ– पोर्नोग्राफी अत्यधिक हेर्नेका सेक्स पार्टनर धेरै हुन्छन् । उनीहरू सेक्सका लागि जेसुकै गर्न र जति पनि पैसा खर्च गर्न तयार हुन्छन् ।यसले मानिसलाई यौन हिंसातर्फ धकेल्ने गरेको छ । पोर्नोग्राफी हेर्ने मानिसहरू महिलालाई कसरी नियन्त्रण गर्ने भन्नेबारे सोच्छन् । पोर्नोग्राफीका कारण समाजमा अश्लील र कामुक भाषाको बाढी नै आएको पनि बताइन्छ । त्यस्ता भाषाले समाजलाई असर गर्ने गर्दछ । भारतमा हरेक २२ मिनेटमा एउटा बलात्कारसम्बन्धी मुद्दा दर्ता हुने गरेको बताइन्छ ।
– सपना मुदिया, रौतहट ।

प्रतिक्रिया दिनुहोस्