नेपाललाई टी–२० सिरिजको उपाधि



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालले थ्री–नेसन्स टी २० क्रिकेट सिरिजको उपाधि शनिबार जितेको छ । नेपालले त्रिवि मैदानमा भएको फाइनल खेलमा नेदरल्यान्डस्लाई १ सय ४२ रन अन्तरले हराएको हो । योसँग नेपालले तीन देशीय सिरिजको उपाधि पहिलोपटक जित्यो ।

नेपालले जितका लागि २ सय ३९ रनको विशाल लक्ष्य डच टिमलाई दिएको थियो । जवाफमा डच टिम १७.२ ओभरमा ९६ रन जोडेर अल आउट भयो । डच टिमका सेबास्टियन ब्राटले सर्वाधिक २६ रन जोडे । अन्यमा ओपनर मेक्स ओडाउडले २० रन र कप्तान पिटर सीलारले १३ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।नेपालको बलिङतर्फ करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । त्यस्तै, कमलसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो । यो नेपालको टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्चतम योगफल हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान दिए । उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए । यो उनको सिरिजमा चौथो अर्धशतकसमेत हो ।यसैगरी, कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्कासहित ५० रनमा नटआउट रहे । यो उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक पनि हो । यस्तै उप–कप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्का हान्दै ४८ रनमा नटआउट रहे ।

प्रतिक्रिया दिनुहोस्