अस्ताए शिक्षाको ज्योति



नेपाल समाचारपत्र, काठमाडौं

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ । उहाँ चैत ३० गते सोमबार एक्कासि घरको भ-याङमा लडेर बेहोस हुनुभएको थियो । उपचारका लागि तत्कालै मनमोहन अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएकाले नर्भिक अस्पताल थापाथलीमा लगिएको थियो । टाउकोमा चोट लागि उहाँको १३ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा शनिबार बिहान ८ः१० बजे अस्पतालमै निधन भएको हो ।

राजवंशीको निधनले देशले शिक्षा क्षेत्रको एक धरोहर गुमाएको छ । संस्थागत तथा सामुदायिक दुवै थरी विद्यालयको सुधार नभएसम्म देशमा शिक्षा क्षेत्रको सुधार हुन सक्दैन भन्ने उहाँको मूल मान्यता थियो ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, गगन थापा तथा नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठलगायतले आर्यघाटमा पुगेर श्रद्धाञ्जलि व्यक्त गरेका थिए । नेता नारायणकाजीले सामाजिक सञ्जाल फेसबुकमा संविधानसभाका सदस्य, नेपाली शैक्षिक जगत्का एक प्रभावशाली व्यक्तित्व, सिद्धार्थ वनस्थलीका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको निधनबाट आफू अत्यन्त दुःखी भएको जनाउनुभएको छ । राजवंशीलाई श्रद्धाञ्जलि दिन पशुपति आर्यघाटमा आफन्तजन, शिक्षक, कर्मचारी, पूर्वविद्यार्थी, विभिन्न संघस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले राजवंशीको पार्थिव शरीरमा विद्यालयको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । उहाँका पुत्रद्वय रूपक राजवंशी तथा दीपक राजवंशीले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो ।संविधानसभाको ज्येष्ठ सदस्यको हैसियतले उहाँले सभामुखको भूमिका पनि निर्वाह गर्नुभएको थियो । नेपाः राष्ट्रिय पार्टीका सांसद उहाँ पछिल्लो समय राजनीतिभन्दा पनि साहित्यमा सक्रियरूपमा लागिपर्नुभएको थियो । साहित्यकारको कुनै गुरु नै हुँदैन भन्ने मान्यता राख्ने राजवंशीका ३२ वटा कृति प्रकाशित भइसकेका छन् भने केही प्रकाशोन्मुख पनि छन् । नेपाली, अंग्रेजी, नेवारी गरी तीन भाषामा उहाँको कलम चलेको देखिन्छ ।

राणाहरूको अन्याय अत्याचारविरुद्ध आवाज उठाउँदा उहाँ विद्यार्थी जीवनमै जेल पर्नुभएको थियो । उहाँ नेपालको शैक्षिक इतिहासमा राष्ट्रलाई अमूल्य योगदान दिने कर्मशील योद्धा हुनुहुन्थ्यो ।एहाँको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्