खानामा विष हाली श्रीमानको हत्या गर्ने महिला पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।

प्रहरीले श्रीमानलाई विषादीयुक्त खाना खुवाई कर्तव्य गरी मार्ने श्रीमतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ ,मुलपानी २ घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं ४ मा डेरा गरी बस्ने बर्ष २९ की पार्वती थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

उनले बैदेशिक रोजगारबाट फर्केका श्रीमान बर्ष ३२ का बिष्णु थापा मगरलाई पर पुरुषसंग सम्बन्ध रहेका कारण रीसले खानामा किटनाषक बिषादी हाली दिएको तथ्य खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी डिएसपी दिपक गिरीले बताउनुभयो ।
डेरामा श्रीमान,श्रीमती र छोरा छोरी बस्दै आएकोमा पार्वतीले छोरा छोरीलाई अघिल्लो दिन बेलुकाको बासी खाना खुवाई स्कुल तर्फ पठाएको तर श्रीमानलाई बिषादी हालेको खाना खुवाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

श्रीमति पार्वतीले पकाएको गहतको दाल, अण्डा करी, भात खाँदा श्रीमान बिष्णुलाई उकुस मुकुस भई अफ्ठ्यारो भएको र तत्काल उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगिएकोमा उपचारको क्रममा बिष्णुको मृत्यु भएको खुलेको छ ।

त्यसो त श्रीमती पार्वतीले ज्यान सम्बन्धी कसुरमा आफैले दिएको जाहेरी दरखास्तको आधारमा अनुसन्धान भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा मृत्तकको भिषेरा, घटनास्थलबाट उठाईएको खाना समेतको परीक्षण गरिएको थियो । भक्तपुर जिल्ला अदालतको आदेशानुसार पार्वतीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्