महिलाको मृत्युपछि घटनास्थल तनावग्रस्त



भद्रपुर (नेस) ।

झापामा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार वृद्ध महिलाको मृत्युपछि चाराआली –चन्द्रगढी सडक खण्ड तनावग्रस्त बनेको छ । चाराआली चन्द्रगढी सडक खण्ड अन्तर्गत भद्रपुर नगरपालिका ९ स्थित चन्द्रगढी सामुदायिक वन कार्यालयको सडकमा ट्रकले सीटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार भद्रपुर ९ की ७५ वर्षीया गायत्रीदेवी प्याकुरेलको घटनास्थलमै मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

चन्द्रगढी पर्यटकीय क्षेत्रबाट चारआलीतर्फ जाँदै गरेको मे. १ क २६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे. १ ह ६४५८ नम्बरको सिटी सफारीलाई बिहीबार बिहान साढे ९ बजे ठक्कर दिँदा प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।घट्नापश्चात् उत्पन्न विवाद सहमति हुन नसक्दा घटनास्थलमा सशस्त्र र जनपथ प्रहरी उल्लेख्य सङ्ख्यामा परिचालन गरिएको छ । मृतकका आफन्तजन र स्थानीयले मेची राजमार्ग अन्तर्गतको चाराआली चन्द्रगढी सडक खण्ड अवरोध गरेर विरोध प्रदर्शन गरेका थिए । प्याकुरेललाई जिल्लाबाट इन्सपेक्टर जिपी तिम्सिनाको नेतृत्वमा आएको प्रहरी टोलीले स्थलगत मुचुल्का नगरी त्रिपालमा पोको पारेर लगेको मृतककी बुहारी मार्था प्याकुरेलले आरोप लगाउनुभएको छ । आदेश दिनेको नाम सार्वजनिक हुनुपर्ने र इन्सपेक्टरलाई कारबाही हुनुपर्ने उहाँको माग छ । घटनापछि पीडित परिवारसहित स्थानीयले वडा नम्बर ९ को कार्यालय, भद्रपुर नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा बोधार्थ दिएर निवेदन दर्ता गराएको आफन्त चक्र फुयाँलले बताउनुभयो ।

इन्सपेक्टरले माथिको आदेश भन्दै नियमविपरीत लास लगेकोमा उद्योगीहरूको दबाब हुनसक्ने उहाँको भनाइ छ । घटना ढाकछोप गर्न प्रहरी लागि परेकाले सत्यथ्य बाहिर नल्याएसम्म परिवारले शव नबुझ्ने स्थानीयले जनाएका छन् ।सार्वजनिक मुचुल्का नउठाई शव प्रहरीले लैजानु गलत भएको वडा नम्बर ९ का कार्यवाहक वडाध्यक्ष रामबहादुर दाहालले बताउनुभयो । घटनाको विषयमा सत्य तथ्य बाहिर आउनुपर्ने उहाँको भनाइ छ ।मृतक प्याकुरेल व्रतबन्धको फूलपाती बिर्सजनका लागि देउनीया खोला गइरहेकी थिइन् । ट्रक भद्रपुरस्थित दक्षिणकाली प्लास्टिक उद्योगको रहेको प्रहरीले जनाएको छ । पानीको ट्याङ्की लोड गरिएको ट्रक चारआलीतर्फ गइरहेको थियो

प्रतिक्रिया दिनुहोस्