आर्थिक संकटले रेड पान्डा जोन कार्यक्रम अलपत्र



चिरञ्जीवी मास्के, दोलखा । 

गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको गौरीशङ्कर गाँउपालिकाको सहयोगमा घोषणा गरेको रेड पान्डा जोन कार्यक्रम अलपत्र परेको छ । गौरीशङ्कर संरक्षण क्षेत्रले झण्डै दुई वर्षअघि गौरीशङ्कर गाउँपालिका–७ मार्वुको कोप्लाङ, थासिङलगायतको क्षेत्रलाई समेटेर रेड पान्डा जोन कार्यक्रम घोषणा गरेको थियो ।

मार्वुको कोप्लाङ क्षेत्रमा बस्ती आसपास नै रेड पान्डा देखिन थालेपछि गौरीशङ्कर संरक्षण क्षेत्रले गाउँपालिकाको सहयोगमा उक्त क्षेत्रलाई रेड पान्डा जोन घोषणा गर्दै जनचेतना, संरक्षण र पर्यटन प्रवद्र्धन कार्यक्रम अघि सारेको थियो ।समुन्द्री सतहबाट २२ सय मिटर उचाइमा रहेको कोप्लाङ र २५ सय मिटरको उचाइमा रहेको थासिङ क्षेत्रमा जेठको पहिलो हप्तादेखि केही समय रेड पान्डा बस्तीनजिकै समेत देखिने गरेको स्थानीय लाक्पा शेर्पाले बताउनुभयो । जेठको पहिलो हप्तातिर बाँसको टुसा पलाउने समय भएकाले त्यसैका लागि रेड पान्डा बस्तीनजिक आउने गरेको अनुमान स्थानीयको छ । लजालु स्वभावको रेडपाण्डा अधिकांश समय मानिसबाट छलिएर जङ्गलतिरै रहने गरेको स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ ।गौरीशङ्कर गाउँपालिका र गौरीशङ्कर संरक्षण क्षेत्रले मार्वुको कोप्लाङ, थासिङ क्षेत्रलाई रेड पान्डा जोन घोषणा गरेको भए पनि कोरोना संक्रमण पछि कार्यक्रम अलपत्र परेको गौरीशङ्कर गाउँपालिका–७ का वडाध्यक्ष आङदोर्जे (रिन्जी) शेर्पाले बताउनुभयो ।

गाउँपालिकाले रेड पान्डा जोन कार्यक्रमका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख रुपियाँ बजेट विनियोजन गरेको तर कोरोना संक्रमणका कारण रेड पान्डा जोन कार्यक्रम सञ्चालन गर्न नसकिएपछि उक्त रकम कोरोना रोकथाम, पहिरो रोकथाप जस्ता दैवी विपत्ति कार्यक्रममा खर्च गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साह रेड पान्डा जोन कार्यक्रम घोषणा गरेपछि आयोजनाले ५ लाख रुपियाँ छुट्टाएको तर कोरोना संक्रमणका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुहुन्छ । यो आर्थिक वर्षमा भने संरक्षेत्र आर्थिक तथा जनशक्तिको हिसाबले धराशयी बनेकाले रेड पान्डा जोन कार्यक्रमका लागि बजेट तथा जनशक्ति परिचालन गर्न नसकिएको साहले बताउनुभयो ।संरक्षण क्षेत्रले रेड पान्डा जोन कार्यक्रममार्फत रेड पान्डाको संख्या गणना, रेड पान्डाको बासस्थानको सुरक्षा, रेड पान्डासम्बन्धी चेतना अभिवृद्धि र पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको तर कार्यक्रम शुरु नै गर्न नसकिएको साहको भनाइ छ । दोलखाको कोप्लाङ र थासिङ क्षेत्रमा कति संख्यामा रेड पान्डा छ भन्ने तथ्याङ्कसमेत आवश्यक रहेको साह बताउनुहुन्छ ।

रेड पान्डा जोन कार्यक्रमअन्र्तगत पहिलो चरणको अभियान सकिएपछि दोस्रो चरणको अभियानमा रेड पान्डाको प्रजनन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको साहले बताउनुभयो । रेड पान्डा जोन कार्यक्रमका लागि गौरीशङ्कर गाउँपालिकाले समेत सोचेअनुसार सहयोग नगरेको साहको गुनासो छ । अघिल्लो वर्ष पालिकाले रेड पान्डा जोन कार्यक्रमको लागि १० लाख छुट्टाएको भए पनि त्यो खर्च नभएको र यो वर्ष बजेटनै नछुट्टाएको साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्