निष्कर्षमा पुगेन ओली–नेपाल दोस्रो वार्ता



मधुसूदन रायमाझी, काठमाडौं ।

 सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवाद समाधान गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रोपटक भएको वार्तामा पनि कुनै सहमति जुटन सकेन । लामो समयको संवादहीनता तोड्दै बुधबारबाट शुरु भएको वार्ता बिहीबार पनि जारी रह्यो ।

होटल मेरियटमा धरहराको दृश्य हेरेर वार्ता शुरु भए पनि दुवै नेता आ–आफ्नै अडानमा केन्द्रित हुँदा वार्ता निष्कर्षमा नपुगेको बताइएको छ ।
भेटमा अध्यक्ष ओलीले पार्टीले स्पष्टीकरण सोधिसकेकाले पार्टी नीतिविपरीत अब क्रियाकलाप नगर्ने गरी सच्चिएर आउन आग्रह गर्दा नेता नेपालले भने पार्टीलाई विधिमा चलाउन २०७५ जेठ ३ अघिको कमिटी व्युँताउनुपर्नेमा जोेड दिनुभएको थियो ।नेपाल निकट एक नेताका अनुसार नेपालले पार्टीलाई विधिमा चलाउन अहिले आफूहरूले गरेको गतिविधि समानान्तर गतिविधि नभएको दाबी गर्नुभयो । ती नेताका अनुसार अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाएर लैजाने भन्दा पनि गुटको संरक्षण गरेर अगाडि बढ्ने शैली अपनाएको र ओलीको कार्यशैली सच्चिने नदेखिएको नेपालले आफूनिकट नेताहरूलाई जानकारी गराउनुभएको छ ।वार्तापछि बाहिरिने क्रममा नेता नेपालले छलफल तिक्ततापूर्ण भएको बताउनुभएको छ । पार्टीका दोस्रो तहका नेताहरूको पहलमा दुई नेताबीच वार्ता भए पनि सहमति भने जुट्न सकिरहेको छैन । अध्यक्ष ओलीले २७ सांसदमाथि कारबाही प्रक्रिया अगाडि बढाउने गरी गृहकार्य अगाडि बढाउनुभएको छ ।

नेता नेपालसहित सांसदले बुझाए स्पष्टीकरण

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदहरूले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले बिहीबार संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाउनुभएको हो ।
आफ्नो स्पष्टीकरणमा नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरूद्ध आफूहरूले कुनै काम नगरेको उल्लेख गर्दै स्पष्टीकरणमा उहाँहरूले आफूहरूमाथि लगाइएका आरोपहरू निराधार भएको दाबी गर्नुभएको छ ।

नेता नेपालले बुझाएको स्पष्टीकरणमा भनिएको छ– ‘म नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित व्यक्ति भएकाले यस पार्टीको नाम, झण्डा, नीति र कार्यक्रमको प्रतिरक्षा गर्दै सो प्रयोजनका लागि विभिन्न कार्यक्रममा क्रियाशील हुनु मेरो दायित्व हो ।’गत चैत ४ र ५ गते ललितपुरमा आयोजित एमालेको राष्ट्रिय कार्यकर्ता भेला पनि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्गनिर्देशन र विधानको प्रतिरक्षा तथा एमालेको एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम भएको बताउँदै स्पष्टीकरण पत्रमा भेलाले पार्टी एकतालाई मजबुत बनाउने कुरामा नै जोड दिएको दाबी गरिएको छ ।त्यस भेलाबाट कुनै पार्टी खोल्ने वा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उद्देश्य, कार्यक्रम र विधानविपरीतको कुनै काम भएको छैन’, नेता सुरेन्द्र पाण्डेले दिएको स्पष्टीकरणमा भनिएको छ– ‘सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेका पार्टी कमिटीहरू तथा जनसंगठनका सबै संरचनाहरूलाई पूर्ववत् क्रियाशील तुल्याउनुपर्छ भन्ने मान्यता राख्दै सर्वोच्च अदालतको फैसलाबाट पुनर्जीवित भएका ती पूर्वकमिटीका गतिविधिमा मेरो संलग्नता रहनु हाम्रो पार्टीको विधानसम्मत गतिविधि हो ।’

पार्टी संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेता नेपालसहित प्रतिनिधिभसामा रहेका आफ्ना २७ सांसदविरुद्ध तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्नुभएको थियो । संघीय संसद्को सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै कारण खुलाएर तीन दिनभित्र स्पष्टीकरण दिन ओलीले मंगलबार पत्र दिएकोमा उहाँले पार्टी नीतिविपरीत कुनै पनि गतिविधि नगरेको व्यहोरासहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाउनुभएको हो ।अध्यक्ष ओलीले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हीराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोध्नुभएको थियो । पार्टीले यसअघि माधव नेपालसहित चार जना नेतालाई ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

पार्टी एकता जोगाउन १५ नेताको अपिल

नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन संयुक्तरूपमा अपिल जारी गर्दै उहाँहरूले यस्तो अपिल गर्नुभएको हो ।अपिलमा ‘कम्युनिस्ट आन्दोलनको रक्षा गर्न एमालेको एकतालाई बचाऔं’ भनिएको छ । आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेचहरू गरिरहेको समेत उल्लेख गर्दै अपिलमा भनिएको छ– ‘फागुन २८ गतेको भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यहीं देखाउँछ । तर, हामी पार्टी एकता जोगाउन चाहन्छौं ।’

अपिलमा पार्टी एकताका लागि फागुन २८ गते र तत्पश्चात् भएका बैठकका निर्णय फिर्ता हुनुपर्ने १५ नेताले माग गरेका छन् । त्यसो हुन सकेमा मात्र एमालेको एकता जोगिन्छ भन्ने उल्लेख गर्दै अपिलमा एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ भन्ने उल्लेख छ ।अपिल गर्ने नेतामा खनाल, नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ष विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्