नेपालको शानदार ब्याटिङमा पनि हार



नेपाल समाचारपत्र, काठमाडौं  । 

नेपालले शानदार ब्याटिङ गरेर विशाल स्कोर जोडे पनि जारी थ्री–नेसन्स टी २० क्रिकेट सिरिजमा पहिलो हार बेहोरेको छ ।घरेलु टिम नेपालले आफ्नै प्रिय त्रिवि मैदानमा मंगलबार भएको खेलमा शानदार २ सय ६ रन बनाएको थियो । नेदरल्यान्डस्विरुद्धको पहिलो खेलमा ९ विकेटको सहजै जित हासिल गरेको नेपालले सोही प्रतिद्वन्द्वीविरुद्धको दोस्रो खेलमा त्यो नतिजा दोहो-याउन सकेन । नेपाल ३ विकेटले हार्न पुगेको थियो । पाहुना टिम नेदरल्यान्डस्ले ३ बल बाँकी राखेर ७ विकेट गुमाउँदै जित हासिल गरेको थियो ।

यो नेदरल्यान्डस्ले टी २० क्रिकेटमा ठूलो लक्ष्य भेटाएको पहिलो अवसर पनि हो । साथै सिरिजमा नेदरल्यान्डस्ले ३ खेलबाट ४ अंक जोडेर नेपाल सरह ४ अंक जोडेको छ । नेपालले पनि तीनै खेलबाट ४ अंक बनाएको छ । अर्को सहभागी टिम मलेसियाको भने २ खेल खेलेर कुनै अंक छैन । फाइनलको लागि नेदरल्यान्डस् र नेपाल तयार भएको छ भने मलेसियाको लागि फाइनलको सम्भावना बनाउन बँँकी दुबै खेल जित्न आवश्यक छ ।नेपालको हार तय गर्न डच टिमका मध्यक्रमका ब्याटसम्यान बास डी लीडेको आक्रमक ब्याटिङ कारक बनेको थियो । उनले मात्र ४२ बलको सामना गरेर ८१ रन जोडेका थिए । अन्तसम्म क्रिजमा रहेका उनले नेपाली बलरलाई निराश पार्दै ७ चौका र ५ छक्का प्रहार गरे । यसैगरी नेदरल्यान्डस्को ब्याटिङमा बेन कुपरले पनि शानदार ब्याटिङ गरे ।

उनले ३५ बलमा ५५ रन जोडेका थिए । उनको ब्याटिङमा १० चौका पनि सामेल थिए ।कुपर र डी लीडेले तेस्रो विकेटका लागि ६८ रन जोडेर स्कोर १ सय ३३ मा पु¥याए । त्यही स्कोरमा कुपर र आर्यन दत आउट भएका थिए । यतिबेलासम्म खेल नेपालको नियन्त्रणमा थियो । तर, डी लीडे र कप्तान पीटर सीलारले ४९ रनको साझेदारी गरेर स्कोर १ सय ८२ मा पु-याए । सीलारलाई व्यक्तिगत ३१ रनमा सन्दीपले आउट गरेका थिए । स्कोर १ सय ९१ हुँदा स्कट एडवार्डस्लाई अभिनास बोहराले आउट गरे ।यतिबेलासम्म नेपालले ८ बल फ्याल्न बाँकी थियो भने डच टिमले जितको लागि १६ रन बनाउनु थियो । अभिनासको बाँकी २ बलमा डी लीडेले एक छक्का र एक चौका प्रहार गरेर १० रन बटुले । यो १० रन जानु नै नेपालको लागि घातक बनेको थियो । यसले गर्दा अन्तिम ६ बलमा डच टिमले ६ रन बनाउनु पर्ने सजिलो समीकरण बन्यो । त्यसो त करण केसीले स्टाललाई पभेलियन फर्काएर नेपालको आस जगाए । तर, लयमा रहेका डी लीडेले लगातार २ बलमा चौका प्रहार गरेपछि नेपालले जित्ने आशा तुहिएको थियो ।

उनको अगाडि नेपाली बलरको प्रदर्शन फिक्का रहेको थियो । नेपाली बलरमा सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।यसअघि, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतकीय इनिङको सहयोगमा नेपालले २ सय ६ रन बनाएको थियो । जारी सिरिजमा ओपनर कुशल भुर्तेलले लगातार तेस्रो अर्धशतक प्रहार गरे । उनले ८ चौका र १ छक्कासहित ६२ रन जोडेका थिए । योसँगै उनले नेपाली ब्याटिङमा ओपनिङ राम्ररी सम्हाल्न सक्ने संकेत पनि गरेका छन् । जबकी यो उनको पहिलो अन्तर्राष्ट्रिय सिरिज पनि हो ।

यसैगरी दीपेन्द्रले ३० बलको सामना गरी ५ छक्का र ३ चौकाको सहयोगमा ६० रन जोडेका थिए । अर्का ओपनर आशिफ शेख शून्य र कप्तान ज्ञानेन्द्र मल्ल (२० रन) छिट्टै आउट भएपछि कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि ७८ रन जोडेका थिए । यस्तै कुशल मल्लले १८ रन जोडे भने सोमपाल कामी २१ रनमा नटआउट रहे । डच टिमको बलरमा कप्तान पिटर शिलारले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । भिभिन किंग्माले २ विकेट लिए भने आर्यन दत्त र डी लिडेले १–१ विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्