धुलिखेल र बनेपाका सबै शिक्षण संस्था बन्द, अन्य तहका शैक्षिक संस्थाका बारेमा मौन



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला स्थित कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले नागरिकहरुको सुरक्षाका लागि तत्काल र दीर्घकालिन रुपमा संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि तयारी गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकमा समितिका सल्लाहकारद्धय जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको सहभागिता रहेको थियो ।

कोभिड १९ का कारण जिल्लामा यस अघि निधन भएका ब्यक्तिहरुको शब ब्यवस्थापन, संक्रमित ब्यक्तिहरुको उपचार तथा सम्भावित ब्यक्तिहरुको खोजविन र उपचारका लागि भएका पहलहरुको जानकारी गराउँदै तत्काल आईपर्ने संकट टार्न अपनाउनु पर्ने उपायका बारेमा निर्णय भएको समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

जिल्लामा दैनिक संक्रमणदर बढिरहेकाले अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने र त्यसको अनुगमन गर्ने निर्णय भएको छ । नेपाल सरकारले गरेका निर्णयहरुलाई अक्षरस पालना गराउँदै धुलिखेल अस्पतालमा आवश्यकता हेरी उपचारमा सहजिकरण, परिक्षण तथा सम्पर्क ब्यक्तिको खोजी गर्ने तयारी गरिएको छ ।

बैठकले बनेपा र धुलिखेल क्षेत्रका सबै प्रकारका शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द गरी बैकल्पिक शिक्षण सिकाईका विधिहरु अपनाई शैक्षिक गतिविधि संचालन गर्न निर्देशन दिएको छ । यस अघि बनेपा नगरपालिकालले नगर क्षेत्र भित्रका सबै प्रकारका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले जानकारी दिनु भयो ।

विद्यालय र कलेजका पूर्व निर्धारण भएका परीक्षा तथा अन्य प्रयोगात्मक कक्षाहरु जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संचालन गर्न अनुमति प्रदान गरेको छ । अन्य तहका विद्यालय तत्कालका लागि बन्द गरिएको छैन । सिनेमा हल, पार्टी प्यालेस, फुटसल, आमसभा, जुलुस, विभिन्न खालका प्रतियोगिताहरु बन्द गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको छ । त्यस्तै विवाह तथा अन्य धार्मिक कार्यक्रमहरु संचालन गर्न २५ जना भन्दा धेरै नहुने गरी प्रशासनको अनुमति लिएर मात्र आयोजना गर्न दिने निर्णय गरेको छ । मास्क नलगाई आउने यात्रुलाई बसमै १० रुपैय लिएर मात्रै यात्रा गराउन यातायात ब्यवसायीहरुलाई प्रशासनले अनुरोध गरेको छ ।

सबै कार्यालय, सेवा केन्द्र र सार्वजनिक पसलमा सेनिटाईजर, मास्कको अनिवार्य प्रयोग गर्न, मास्क नलगाई आउने सेवाग्राहीलाई कार्यालय प्रवेश बन्द गर्ने निर्णय गरेको छ । हरेक होटल तथा रेष्टुरेन्ट विहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै संचालन गर्न दिने निर्णय गरेको छ । बैठकमा स्थानीय सरकारहरुलाई आईसोलेसन, क्वारेन्टाईन तथा अन्य भाईरस नियन्त्रण गर्न सक्ने स्वास्थ्य सामाग्रीहरु तयारी अवस्थामा राख्न र नागरिकहरुको सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्