सलादका पातको पोकाभित्र विषालु सर्प भेटियो



क्यानवेर्रा, (एजेन्सी) ।

अस्ट्रेलियाको सिडनीस्थित एउटा सुपरमार्केटबाट प्लास्टिकमा पोका पारिएको सलादका पातहरू खरिद गरेर लगेका स्थानीय बासिन्दा एलेक्स व्हाइट निकै डरलाग्दो स्थितिको सामना गर्न बाध्य भएका छन् । उनले पत्रकारहरूलाई भनेकाछन्, ‘शुरूमा सलादका पातबाट अलि ठूलै खालको गड्यौला निस्कँदै गरेको देखेर म अचम्म मान्दै थिए । तर, नजिकबाट नियालेर हेर्दा जिब्रोजस्तो केही चिज चलायमान भएको देखेपछि भने मलाई यो चिज गड्यौला हुन सक्तैन भन्ने लाग्यो । त्यसपछि, विस्तारै टाउको उठाउन थालेपछि पो सर्प रहेछ भन्ने यकिन भयो । एकछिन त म बेस्सरी डराए । ’
स्थानीय प्रशासनले पहेंलो टाउको भएको यो विषालु सर्प ८ सय ७० किलोमिटर दुरीको यात्रा तय गरी सिडनीसम्म आइपुगेको बताएको छ ।

ती सलादका पातहरू अस्ट्रेलियाली शहर टुबुम्बामा प्याकिङ भएको हो । रेफ्रिजेरेटरयुक्त सो सुपरमार्केटमा प्लास्टिकभित्रको सर्प निष्क्रिय अवस्थामा रहेको हुनुपर्ने अनुमान गरिएको छ । व्हाइटले सलादको पातका पोका खरिद गरी राखिएको झोला बोकेर साइकल चलाउँदै घर पुगेका थिए ।भान्छा कोठाको टेबुलमा यसरी सर्पसहितको प्लास्टिकको झोला पनि च्यातिएको देखेपछि आत्तिएका व्हाइट र उनकी पत्नी एमेलियाले तत्कालै जनावर तथा पशुपन्छी उद्धार टोली बोलाएर सम्भावित खतराबाट मुक्ति पाएका थिए । वार्य नामक सरिसृप नियन्त्रण निकायले त्यो सर्पलाई सुरक्षित ढंगले क्विन्सल्यान्ड राज्यमै फर्काइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्