सिरिजमा नेपालको लगातार दोस्रो जित



नेपाल समाचारपत्र, काठमाडौं । 

घरेलु टिम नेपालले जारी थ्री–नेसन्स टी २० क्रिकेट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।सोमबार नेपालले पाहुना टिम मलेसियालाई ९ विकेटले हराएको हो । यसअघिको पहिलो खेलमा नेदरल्यान्डस्विरुद्ध पनि नेपाल ९ विकेटले नै विजयी भएको थियो । योसँगै नेपाल सिरिजमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आज तेस्रो खेलमा नेपालले नेदरल्यान्डस्सँग खेल्दैछ । नेदरल्यान्डस्को २ अंक छ भने मलेसिया दुबै खेल हारेर अंकविहीन रहेको छ ।

त्रिवि मैदानमा भएको खेलमा नेपालले मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य केवल १ विकेटको नोक्सानीमा भेटाएको थियो । नेपाललाई जित दिलाउन ओपनर कुशल भुर्तेलले फेरि एकपटक महत्वपूर्ण भूमिका खेले । कुशलले ४१ बलमा ५ छक्का र ३ चौकाको सहयोगमा ६१ रन जोडेका थिए । उनले लगातार दोस्रो अर्धशतक प्रहार गरेका थिए । उनले नेदरल्यान्डस्विरुद्ध ६२ रन जोडेका थिए ।नेपालका लागि कुशल र अर्का ओपनर आसिफ शेखले पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए । यो नेपालको तर्पmबाट सिरिजमा लगातार दोस्रोपटक शतकीय ओपनिङ साझेदारी थियो । पहिलो खेलमा नेदरल्यान्डस्विरुद्ध कुशल र आसिफले ओपनिङमा १ सय १६ रनको साझेदारी गरेका थिए । यो साझेदारी टी २० मा नेपालको तर्फबाट अहिलेसम्मकै उच्चतम् ओपनिङ साझेदारीसमेत हो ।

आसिफ भने लगातार दोस्रोपटक अर्धशतकमा पुग्नबाट वञ्चित भएका थिए । उनी ४२ रन बनाएर आउट भएका थिए । २९ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । आसिफको स्थानमा आएका दीपेन्द्र सिंह ऐरी ६ रनमा नटआउट रहेका थिए । दीपेन्द्रले विजयी चौका प्रहार गरेका थिए । मलेसियाको तर्फबाट विरानदीप सिंहले १ विकेट लिएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिङ रोजेको मलेसियाले १६.५ ओभरमा आलआउट भएर १ सय ९ रन मात्रै बनाएको थियो । टिमका लागि ओपनर सैयद अजीजले सर्वाधिक २७ रन योगदान दिएका थिए । अजीजले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै सार्विन मुनियान्डीले २० रन र सफिक सरिफले १५ रन जोडेका थिए । तर, नेपाली बलरद्वारा घातक बलिङ हुँदा मलेसियाका ८ खेलाडी दोहोरो अंकको रनमा पुग्न सकेनन् ।

नेपालको तर्फबाट करण केसी सफल बलर सावित भए । करणले ३ ओभरमा १७ रन दिएर ३ विकेट लिनुका साथै मलेसियाका कप्तानलाई रनआउट गर्न पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनले नेपाललाई पहिलो सफलता पनि दिलाएका थिए । यसैगरी, सन्दीप लामिछानेले २ विकेट हात पारेका थिए । अन्यमा सोमपाल कामी, दीपेन्द्र सिंह शाहब आलम र कुशल मल्लले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्