पानी परेपछि चार दर्जन वनमा लागेको डढेलो नियन्त्रणमा



नेपाल समाचारपत्र, पर्वत ।

पर्वतका विभिन्न स्थानमा लागेका डढेलो अधिकतम प्रयास हुँदाहुँदै पनि नियन्त्रणमा नआएको बेलामा लगातार भइरहेको वर्षाले नियन्त्रणमा आएको छ । वैशाख २ दिउँसोसम्म करिब ५० स्थानमा लगेको डढेलोमध्ये केही ठाउँको नियन्त्रणमा आए पनि अधिकांश ठाउँमा नियन्त्रणबाहिर थियो। तर‚ सोही दिन अपराह्नदेखि पानी परेपछि डढेलो नियन्त्रणमा आएको हो। शनिबारसम्म लगातार चार दिन वर्षा भएपछि अहिले डढेलो र आगलागीका घटनाको सूचना नआएको पर्वतका डिभिजनल वन अधिकृत मेघराज पौडेलले बताउनुभयो ।

‘वर्षा नभइञ्लेल ठाउँठाउँमा आगलागी भएको थियो। केही घण्टाको फरकमा फलानो नयाँ ठाउँमा आगलागी भयो भन्दै खबरहरु आउने गरेका थिए। कतिपय ठाउँमा भीषण डढेलो नियन्त्रणमा लिन सकिएको थिएन’ उहाँले भन्नुभयो ‘वर्षा भएपछि अहिले आगलागी भएको भन्ने सूचना कतैबाट पनि प्राप्त भएको छैन। आगलागी र वातावरण प्रदूषण चलिरहेको बेलामा भएको वर्षाले मान्छेको आयु र वन जोगाएको छ।’

पौडेलका अनुसार डढेलोबाट करिब ७०० हेक्टर क्षेत्रफलमा वनजंगलमा क्षति पुगेको छ। आगलागीबाट मानवीय क्षति नभएको पनि पैयुँ गाउँपालिकामा घरपालुवा जनावर मरेको र घाइते भएको उनले बताए। वन क्षेत्रमा भएका आगलागीमा चराहरू धेरै मरेको हुन सक्ने र वन्यजन्तुमा क्षति भएको भए पनि त्यसको कुनै प्रमाण अहिलेसम्म फेला नपरेको पनि वन अधिकृत पौडेलको भनाइ छ। पर्वतमा भएका आगलागीमध्ये डिमुवा क्षेत्र, भूक, चित्रे, आर्थर लगायतका ठाउँमा अन्यत्रको तुलनामा बढी र नियन्त्रण बाहिरको आगलागी भएको थियो।

प्रतिक्रिया दिनुहोस्