त्रिदेशीय कप क्रिकेट : नेपाल ९ विकेटले विजयी



न्युज अफ नेपाल, काठमाडौं ।

त्रिदेशीय कप क्रिकेटमा नेपालले जीत हासिल गरेको छ। सोमबार भएको नेपाल र मलेसियाविरुद्धको खेलमा नेपालले ९ विकेटको जीत हासिल गरेको हो। ओपनर कुशल भुर्तेल र आसिफ शेखको शतकिय साझेदारीसँगै नेपालले जीत हासिल गरेको हो। मलेसियाले नेपाललाई पहिले ब्याटिङ गर्दै जितको लागि १ सय १० रनको विजयी लक्ष्य दिएको थियो। नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

नेपालका लागि कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे। आसिफ शेखले २९ बलमा ४ चौका र १ छक्का सहित ४२ रनको पारी खेले। उनी ११ औं ओभरको पहिलो बलमा क्याच आउट भएका थिए। आसिफ आउट भएलगत्तै क्रिजमा उत्रिएका दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गर्दै नेपाललाई जीत दिलाएका थिए। उनी ६ रनमा अविजित रहे।

यसअघि मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भएको थियो। मलेसियाका लागि ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रनको योगदान दिए। बलिङतर्फ करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। सन्दीप लामिछाने दुई र दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, साहब आलम र कुशल मल्लले १–१ विकेट लिए।

यसअघि नेपाल र नेदरल्याण्डसबीचको पहिलो खेलमा पनि नेपाल ९ विकेटले नै विजयी भएको थियो। जीतसँगै नेपाल ४ अंकका साथ तालिकाको शीर्षस्थानमा छ। नेदरल्याण्डस २ खेलमा २ अंकसहित दोस्रो र मलेसिया तेश्रो नम्बरमा छ। आजको खेलमा करण केसी ुम्यान अफ द म्याचु भएका छन्। नेपालको आगामी खेल मंगलबार नेदरल्याण्डससँग रहेको छ।

प्रतिक्रिया दिनुहोस्