बजेट तयारीमाथि छलफल



काठमाडौं, नेस । 

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको स्थिति तथा आगामी आर्थिक वर्षको बजेट तयारीका विषयमा प्रतिनिधिसभाको अर्थ समितिले विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । समितिको आइतबार बसेको बैठकमा मन्त्रालयको ऊर्जासचिव दिनेशकुमार घिमिरेले चालू आवमा ५७ मेगावाट जलविद्युत् जडान भएको र राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पहुँच प्राप्त जनसंख्या तीन प्रतिशत थप भएको जानकारी दिनुभयो ।

आगामी आवमा जलाशयमा आधारित विद्युत् परियोजनाको निर्माण, प्रसारण लाइन विस्तारलगायत कार्यक्रम प्राथमिकतामा रहने सचिव घिमिरेले बताउनुभयो ।त्यस्तै सिँचाइ सचिव मधुसुदन अधिकारीले चालू आवमा सिंचित क्षेत्र विस्तार करिब १५ हजार हेक्टरमा थप भएको, ठूला तथा मझौला नदीमा तटबन्ध निर्माण ३८ किलोमिटर उपलब्धि भएको, ११० मौसम मापन केन्द्रमध्ये छ वटालाई स्वचालित गर्ने काम भएको र १४१ जलमापन केन्द्रमध्ये यस आवमा आठ वटालाई स्वचालित गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । खानेपानी सचिव माधव बेल्वासेले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको लागि खरिद प्रक्रिया पूरा गरी निर्माण कार्य शुरु गर्ने तयारी रहेको जानकारी दिँदै काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना दोस्रो चरणको वितरण प्रणालीको काम शुरु गर्नेलगायत आगामी बजेटको प्राथमिकता रहेको बताउनुभयो ।

समिति सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको बैठकमा सांसदहरुले आगामी बजेटमा जनताका आवश्यकतालाई सम्बोधन गर्ने, बजेट कार्यक्रमलाई थप प्रभावकारी बनाउने, बेरुजु घटाउने, चालू आयोजनालाई समयमै सम्पन्न गर्नेलगायत विषयमा सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्