वीरगन्जबाटै आयात–निर्यात दुवै बढ्यो



कृष्णउदास खनाल,वीरगन्ज । 

चालू आर्थिक वर्षको नौ महिनामा वीरगन्ज नाकाबाट आयात ८ प्रतिशतले बढ्दा निर्यात व्यापारमा करिब २५ प्रतिशतले वृद्धि भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा ३ खर्ब ६३ अर्ब रुपियाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्ष २०७६-७७ को समीक्षा अवधिमा आयातित वस्तुको मूल्यको तुलनामा २७ अर्ब रुपियाँले बढी हो ।

गत वर्ष चैत मसान्तसम्ममा सो भन्सारबाट ३ खर्ब ३६ अर्ब रुपियाँ बराबरको वस्तु आयात भएको वीरगन्ज भन्सारका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिनुभयो । यो वर्ष वीरगन्ज नाकाबाट मुख्यतः इन्धन, सवारी साधन, औद्योगिक कच्चा पदार्थ, सवारीसाधनका पार्टपूर्जा, ब्याट्रीलगायत वस्तु भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । निर्याततर्फ भटमास र सूर्यमुखीको प्रशोधित तेल, जुस जाम, कपडा, जुत्ता, दन्तमञ्जन, धागोजस्ता वस्तुको निर्यात भएको छ । सो अवधिमा उक्त नाकाबाट ३१ अर्ब ७६ करोड रुपियाँबराबरको वस्तु निकासी भएको छ । स्वदेशी उद्योगले अघिल्लो वर्षको चैत मसान्तसम्म २५ अर्ब ४५ करोड रुपियाँ बराबरको उत्पादन निर्यात गरेको भन्सारको तथ्यांक छ । यस वर्षको निकासी व्यापार गतवर्षको समीक्षा अवधिभन्दा ६ अर्ब ३१ करोड रुपियाँले बढी हो ।

आर्थिक वर्षको शुरुआतमा खस्किएको व्यापार पछिल्लो समयमा सुधारिएपछि त्यसको सकारात्मक प्रभाव राजस्व असुलीमा देखिएको सूचना अधिकृत गुप्ताले बताउनुभयो । वीरगन्ज भन्सारले चैतसम्ममा १ खर्ब २४ अर्ब रुपियाँ राजस्व उठाएको छ । यो लक्ष्यको तुलनामा ७ प्रतिशत बढी हो । वीरगन्ज भन्सारलाई यो अवधिका लागि १ खर्ब १६ अर्ब रुपियाँ राजस्व उठाउने लक्ष्य तोकिएको थियो । भन्सार महशुल ४७ अर्ब, मूल्य अभिवृद्धि कर ४४ अर्ब र अन्तःशुल्क १४ अर्ब रुपियाँ उठेको छ । पूर्वाधार करतर्फ १० अर्ब र सडक सुधार तथा निर्माण दस्तुर ६ अर्ब संकलन गरेको भन्सारको तथ्यांकमा उल्लेख छ । वीरगन्ज भन्सारले चालू आर्थिक बर्षको साउनदेखि असोजसम्म लक्ष्य भेट्टाउन सकेको थिएन । बन्दाबन्दी र निषेधाज्ञाका कारण उत्पादन र व्यापार करीब ठप्प भएकाले त्यसको प्रभाव राजस्वमा देखिएको थियो । असोजदेखि बन्दाबन्दी खुलेको थियो । त्यसयता भन्सारले लक्ष्यभन्दा बढी राजस्व उठाएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्