सभामुख सापकोटाले खोले मुख सरकारको घेराबन्दीमा प्रतिनिधिसभा



नेपाल समाचारपत्र, काठमाडौं । 

संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई सुनियोजितरूपमा घेरबन्दी गर्न खोजियो भन्दै सरकारको आलोचना गर्नुभएको छ ।नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा प्रमुख अतिथि रहेका सापकोटाले भन्नुभयो– ‘नेताहरुको व्यक्तित्वको लडाइँका कारण प्रतिनिधिसभाले गति नलिएको भन्ने कतिलाई लागेको हुन सक्छ, तर त्यसो होइन, वैचारिक मतभेदका कारण संसद्लाई घेराबन्दीमा पारिएको हो ।’

गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि सोही महिनाको २३ देखि बसेको संसद्का बैठकहरु ‘बिजनेस’विहीन बनेका छन् । सरकारले ‘बिजनेस’ दिनुपर्नेमा उसबाट असहयोग भएको आशय सभामुख सापकोटाको थियो । तर, उहाँले सरकारको नाम नलिई प्रतिगमन र अग्रगमनका विचारधाराबीचको लडाइँले प्रतिनिधिसभाले समस्या भोग्नुपरेको धारणा राख्नुभयो ।‘जस्तोसुकै असहज अवस्था भए पनि आम नागरिकको हितमा डटिरहन्छु, अग्रगमनका लागि हरेक प्रयास अघिबढाउँछु ।’ –सभामुख सापकोटाले भन्नुभयो ।अमेरिकाको सहयोगमा सञ्चालन हुने भनिएको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता झन्डै दुई वर्षदेखि रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखको निरन्तर आलोचना गर्दै आउनुभएको छ । शनिबार बसेको सर्वदलीय बैठकमा पनि सभामुखको आलोचना गर्दै प्रधानमन्त्री ओलीले एमसीसीलाई संसद्को बिजनेस बनाउन दलहरुको सहमति खोज्नुभएको थियो ।

‘यसमा व्यक्तित्वको लडाइ भन्ने कुरा नै छैन, मुलुकको हित वा अहितको कुरा छ, राष्ट्रियताको संरक्षण गर्ने कि नगर्ने भन्ने सबाल छ’, प्रधानमन्त्रीको नाम नलिई सभामुख सापकोटाले भन्नुभयो– ‘सभामुख तटस्थ होइन, आफ्नो पक्षमा होस् भन्ने चाहेका छन् । तर म कसैको दबाबमा काम गर्दिन ।’सापकोटाले संसद्लाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताउनुभयो । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै उहाँले जनताको अभिमतलाई मान्य हुने गरी निर्णय गर्ने प्रस्ट पार्नुभयो ।संसद्मा विचाराधीन विधेयकमा सभामुखले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसीसी शब्दको उच्चारण नगरी स्पष्टीकरण दिनुभयो– ‘देश र जनताको अहित हुने गरी आएका विधेयकमा मैले लिने अडान आफ्नो ठाउँमा छ, पत्रकार महासंघ जस्ता लोकतन्त्रवादी संस्थाले पनि समयमै आवाज उठाएर अग्रगमनका कदमहरुलाई सघाउने नै छ ।’ उहाँले नेपालमा राजनीतिक परिवर्तनका लागि महासंघ र पत्रकारहरुले खेलेको भूमिकाको सराहना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्