प्रदेश–१ को हिउँदे अधिवेशन अन्त्य



विराटनगर, (नेस) । 
प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि प्रदेश १ को प्रदेशसभा बैठकको हिउँदे अधिवेशन अन्त्य हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

आइतबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यसूची थियो । तर, विपक्षी दलका सांसदहरूको विरोधका कारण बैठक अघि बढ्न नसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले पठाएको हिउँदे अधिवेशन अन्त्यसम्बन्धी पत्र वाचन गर्नुभएको थियो । पत्रमा प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने उल्लेख छ । सभामुखले प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, सत्तारूढ नेकपा माओवादी केन्द्रलगायतका दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

बजेट कार्यान्वयनको माग राख्दै प्रदेश–१ को प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरूको विरोधका कारण निरन्तर प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो । चैत २६ गते यताका प्रदेशसभाका सबै बैठक प्रतिपक्ष दलहरुले अवरोध गर्दै आएका थिए । उनीहरुले सरकारले चालू आर्थिक वर्ष २०७७-७८ को पारित बजेटमा उल्लेख भएका प्रमुख कार्यक्रम कार्यान्वयनका लागि स्रोत सुनिश्चितता गर्न माग गर्दै आएका थिए ।

यसैबीच बजेट कार्यान्वयनका सम्बन्धमा विपक्षीहरुले प्रदेशसभा उठाउँदै आएका मुद्दाहरु सम्बोधन नगरी र विपक्षीसँग समझदारी नगरी हठात् बन्द गरेको विरोधमा बैठकमै सांसदहरुले नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीको भाषणभन्दा बजेट कार्यान्वयनको ठोस सुनिश्चितता खोजेको बताउनुभएको थियो ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलहरुको सरोकार सम्बोधन गर्नकै लागि पटक–पटक सर्वदलीय बैठक गरेको दाबी गर्नुभयो । उहाँले आइतबार सरकारका तर्फबाट मुख्यमन्त्रीले सरोकार सम्बोधन गर्न तयारी गरेरै बैठकमा आए पनि विपक्षी दलहरुले अवरोध गरेका कारण समस्या भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्