सम्पदा निर्माण, पुननिर्माण र संरक्षणका लागि महानगर आफैँले लगानी गर्छ : मेयर शााक्य



न्युज अफ नेपाल, काठमाडौँ ।

महानगर क्षेत्रभित्र भएका सम्पदाको मर्मत, सम्भार तथा पुननिर्माणका लागि महानगर आफैँले लगानी गर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । यस कामका लागि तपाईँले महानगर खोज्नु पर्दैन । महानगरले तपाईँलाई खोज्छ । आज लखतीर्थमा मुल प्रवेश द्वारको गजुर प्रतिस्थापन तथा चपाचो शिलान्यास समारोहमा प्रमुख शाक्यले भन्नुभयो – ‘यहाँ काम गर्नेभन्दा काम गरेको देखाएर जीविका चलाउनेको संख्या धेरै भयो । महानगरक्षेत्रभित्र भएका जति पनि सम्पदाको काम छ । त्यसको मर्मत गर्नु छ कि पुननिर्माण? हामी बनाएर त्यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीय गुठी वा समाजलाई हस्तान्तरण गर्छौँ । लगानी हाम्रो जिम्मा । त्यसको अपनत्वका लागि उपभोक्ताको सहभागिता भए मात्र पुग्छ ।’

सरकारले गरेका काममा सहयोग गर्नु सरोकारवालाको दायित्व हो । प्रमुख शाक्यले, व्यक्तिगत लाभका लागि देखिने स्वार्थ समूहलाई निरुत्साह गर्नु पर्ने बताउनुभयो । नदी सभ्यता जोगाउन विष्णुमती नदी किनारामा पार्क बनाउने काम हाम्रो प्राथमिकतामा छ । यसलाई कुनै वडाको एकल कार्यक्रमभन्दा नदीले छुने सबै वडाको संयुक्त कार्यक्रम भनेर बुझ्नुपर्छ । प्रमुख शाक्यको भनाइ थियो ।

त्यस क्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, लखतीर्थ पुननिर्माण कार्य स्थानीयले गर्व गर्न लायक काम भएको उल्लेख गर्नुभयो । आफ्नै स्रोतमा महानगरका सम्पदा जोगाउने नीतिअनुरुप काम भइरहेको डंगोलको भनाइ थियो । पुननिर्माण कार्य आफैँमा जटिल काम हो ।

कार्यक्रममा लखतीर्थ संरक्षण तथा पुननिर्माण समितिकातर्फबाट सुवर्ण डंगोलले, यसको बचावटले नेपालको स्थानीय संवत्को बचाउन गरेको उल्लेख गर्नुभयो । कार्यक्रमका वक्ताले लख तीर्थको पुननिर्माणपछि नेपाल मण्डलबासीको शिर उचो हुने धारणा राख्नुभएको थियो ।

स्वीकृत गुरुयोजनाअनुसार अनुमान गरिएको लखतीर्थ पुननिर्माणको रकम महानगरले व्यहार्ने भएको छ । अहिले यसका लागि करीव ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ । जसमा करीब ५५ लाख रुपैयाँ महानगरले उपलब्ध गराइसकेको छ ।
लख तीर्थ शंखधर साख्वासँग सम्बन्धित स्थान हो । यही लख तीर्थबाट उठाएको बालुवामा सुन भेटेपछि सुन बेचेर किसानको ऋण तिरिदिएका थिए भन्ने बिश्वाश छ ।

प्रतिक्रिया दिनुहोस्