घरेलु तथा साना उद्योग महासंघको महाअधिवेशन जेठमा



काठमाडौं, नेस । 

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन आगामी जेठ तेस्रो साता हुने भएको छ । महासंघको केन्द्रीय कार्यसमितिको ११औं बैठकले आगामी जेठ २४, २५ र २६ गते २५औं महाधिवेशन तथा २२औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैंठकमा महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । विगतमा भएका केन्द्रीय सचिवालय समिति बैठकका निर्णयहरूको जानकारी र कार्यव्यवस्थापन समिति बैठकका निर्णयहरुको बैठकले अनुमोदन गरेको थियो ।महाधिवेशनका लागि समान प्रकृतिका संघसंस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको थियो । महासंघले नेपाल नवीकरणीय ऊर्जा परिसंघसँग एकिकरणका सन्दर्भमा प्रक्रिया अगाडि बढाएको छ । परिसंघ नेपालमा नवीकरण ऊर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनीहरु र फर्महरुको छाता संगठन र गैरसरकारी संस्थाहरुको एकल संस्थाको रुपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो ।

बैठकमा परिसंघका अध्यक्ष गुणराज ढकालले महासंघसँग एकीकरण गर्न गरेको निर्णयसम्बन्धी जानकारीपत्र महासंघका अध्यक्ष श्यामप्रसाद गिरीलाई हस्तान्तरण गर्नुभएको थियो । बैठकले महासंघको विद्यमान विधानका केही दफाहरुमा संशोधन गर्ने निर्णय गर्दै संशोधित विधानका विषयमा आगामी वैशाख २५ गते विशेष साधारणसभामार्फत संशोधित विधान पारित गर्ने निणय समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्