तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा, सरकार बेखबर

भारतीय दूतावासमा एनओसी लिनेको भीड



सरस्वती कर्माचार्य, काठमाडौं ।

 छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ । बितेको २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ६ सय ९२ पुगेको बताइएको छ ।

भारतको राजधानी दिल्लीमा मात्रै बितेको २४ घण्टामा कोरोनाको २४ हजार नयाँ केस थपिएसँगै दिल्लीमा अक्सिजन र रेमडेसिभिरको कमी हुन थालेको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले शनिबार कोरोना संक्रमितको संख्या काबुभन्दा बाहिर पुगेकाले आईसीयू बेडसमेत अपुग भइरहेको जानकारी दिँदै तत्काल अक्सिजन, बेड र कोरोनाको औषधिका लागि केन्द्र सरकारसँग सहयोग मागेको छ ।

उता मध्यप्रदेशको हालत पनि नाजुक छ । बितेको २४ घन्टामा मध्यप्रदेशको इन्दौरमा मात्रै १ हजार ६ सय ५६ नयाँ संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशको क्राइसिस म्यानेजमेन्टले शनिबार भोपाल, इन्दौर र उज्जैन शहरमा यसअघि लगाइएको लकडाउन सकिनु २ दिनअघि नै अप्रिल २६ गतेको बिहान ६ बजेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । यी शहरमा गत अप्रिल १० मा लकडाउन लगाइएको थियो ।छिमेकी राष्ट्रमा कोरोनाको कहर थेग्न नसक्ने अवस्थामा पुगेसँगै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले नेपालमा पनि त्यसको भयावह असर पर्ने चिन्ता व्यक्त गरिसकेको छ ।

सरकारले भारतसँगको सीमा नाकाहरूमा कडाइ गर्न थालिसकेको छ । यसैबीच कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले शहरी क्षेत्रमा रहेका सबै विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । तर, सरकारले कोरोनाको संक्रमणको प्रमुख खतरालाई भने बेवास्ता गरिरहेको छ ।भारतले विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा रहेका भारतीयहरू नेपाल भएर पुनः काममा फर्कन थालेका छन् । गत फेब्रुअरीदेखि नै काठमाडौंस्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन लेटर’ अर्थात् ‘एनओसी’ लिनेहरूको थेग्नै नसकिने भीड लागेको छ ।

स्रोतका अनुसार फेब्रुअरीदखि अहिलेसम्म करिब २५ हजार भारतीय कामदारहरू काठमाडौंस्थित भारतीय दूताबासबाट एनओसी लिएर आफ्नो विदेशी कर्मथलोमा फर्किसकेका छन् । अझै पनि करिब २ लाख ५० हजार भारतीय कामदार तेस्रो गन्तव्य राष्ट्रका लागि नेपाल भित्रिने अनुमान गरिएको छ । अझै पनि भारतको अति संक्रमित दिल्लीबाट दैनिक ५ सयभन्दा बढी भारतीय कामदार काठमाडौं आउने गरेका छन् भने सीमा क्षेत्रबाट वैध तथा अवैधरूपमा भित्रिनेहरूको संख्या त गणनामै आउन सकेको छैन । सिंगापुर, चीन, साउदी अरेबियालगायतका राष्ट्रमा करोडौंको संख्यामा भारतीय कामदार कार्यरत छन् ।भारतीय दूतावासमा एनओसी लिनेको भीड यति धेरै छ कि सातामा २ दिन शनिबार र आइतबार बन्द रहने दूतावासको कन्सुलर सेक्सन भने सातै दिन व्यस्त रहन्छ । दूतावासले नेपालमा पनि कोभिड–१९ को संक्रमण बढ्दै गएकाले कन्सुलर सेवा प्रभावित भएको सूचना जारी गरे तापनि तेस्रो राष्ट्र जानेहरूलाई एनओसी दिने कार्य भने रोकेको छैन । दूताबास परिसरभित्र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरे तापनि दूतावासबाहिरको भीड भने अनियन्त्रित छ । केही दिनअघि उक्त भीडलाई नियन्त्रण गर्न दूतावासमा खटिएका सुरक्षाकर्मीले लाठीचार्जसमेत गर्नुपरेको थियो ।

मानवीयताको नाताले भारतीय कामदारलाई श्रम गन्तव्यसम्म पुग्न सहजता दिनु एउटा कुरा होला तर कोरोनाको हटस्पटबाट यसरी ओइरिएकाहरूबाट संक्रमण फैलियो भने त्यसले भयावह रूप लिने सम्भावना बढी छ । अहिले ज्यादै न्यून संख्यामा रहेको संक्रमितको उपचार र व्यवस्थापन गर्न समेत धौ–धौ परिरहेका बेलामा भारतमा झैं संक्रमण बढ्यो भने कसरी व्यवस्थापन गर्ने, सरकारले बेलैमा सोच्नु जरुरी छ ।भारतबाट दैनिक ५ सयभन्दा बढीको संख्यामा काठमाडौं प्रवेश गर्ने भारतीय नागरिकबाट काठमाडौंकै होटल, सपिङ मल, अन्तर्राष्ट्रिय विमानस्थललगायतका स्थानमा संक्रमण फैलिने खतरा टड्कारो छ । त्यसैले सरकारले भारतबाट तेसो मुलुकका लागि काठमाडौं प्रवेश गर्ने भारतीय कामदारहरूतर्फ ध्यान पु-याउँदै तत्काल आवश्यक कदम चाल्न हतार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्