अमेरिकाले रुसमाथि नाकाबन्दी लगाउने



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी सरकारले रसियामाथि व्यापक क्षेत्रमा नाकाबन्दी लगाउने तयारी गरेको छ । यो कदम सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेप र साइबर आक्रमणको विरुद्ध उठाउन लागेको अनुमान सञ्चार माध्यमले जनाएको छ ।

बिहीबारदेखि लागू हुने भनिएको सो नाकाबन्दी ३० वटा रुसी निकायमाथि लक्षित हुने तथा कम्तिमा १० जना रुसी नागरिकलाई अमेरिकाबाट निष्कासन गरिने बताइएको छ । निष्कासन हुनेहरूमा कूटनीतिज्ञहरू पनि रहेको बताइएको छ ।यसैगरी, अमेरिकी राष्ट्रपति जोय बाइडेनको सरकारले अमेरिकी वित्तीय संस्थाहरूलाई आगामी जुनदेखि रुसी मुद्रा रुवलको आधिपत्य रहेको बोन्डहरू खरिद नगराउन कार्यकारिणी आदेश पनि जारी गर्ने अपेक्षा गरिएको विभिन्न विश्वस्त सूत्रहरूले बीबीसी र सीबीएसले बताएका छन् ।

अहिले अमेरिका र रसियाबीच तनाव चलिरहेको परिस्थितिमा यो कदम चालिन लागेको हो ।गत महिना मात्र रुसी विपक्षी राजनीतिक नेता तथा क्रेमलिनका कट्टर आलोचक एलेक्सेई नाभाल्नीलाई विष सेवन गराएको आरोपमा अमेरिकाले सातजना वरिष्ठ रुसी अधिकारी र एक दर्जनभन्दा बढी सरकारी निकायमाथि नाकाबन्दी लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्