वीरगन्ज : फेरि कोरोना हटस्पट बन्ने खतरा



कृष्णउदास खनाल, वीरगन्ज ।

गएको बर्ष यही समयमा पर्सा आसपासमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको थियो । चैतको अन्तिम साताबाट शुरु भएको कोरोना कहरले वीरगन्जलाई भदौको अन्तिमसम्म तहसनहस बनायो । करिब पाँच महिनामात्रै सामान्य रहेको वीरगन्जको जनजीवनमाथि फेरि कोरोनाले धावा बोल्न थालेको छ ।

पछिल्लो चार दिनमा वीरगन्जमा कोरोनाबाट चारजनाको ज्यान गएसँगै थप त्रास उत्पन्न भएको हो । बीरगन्जको नारायणी अस्पतालमा बिहीबार उपचारको क्रममा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ ।

बीरगन्ज महानगरपालीका वाडा नम्बर २ छपकैयाकी ४२ बर्षीय महिलाको बिहान ८ बजेर १६ मिनेट जाँदा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड १९ कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।स्वास्थ्यमा समस्या देखिएपछि गत चैत्र २९ गते राति नारायणी अस्पतालमा भर्ना भएकी महिलाको चैत्र ३० गते पिसीआर परीक्षणको क्रममा संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचार भईरहेको अबस्थामा उनको मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।

सुरुको दिनदेखिनै महिलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको र उनको अस्पतालमा रहेको कोभिड आईसीयू भित्र अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले जानकरी दिनुभयो ।महिलाको मृत्युसँगै पर्सामा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।

नारायणी अस्पतालमा सङ्क्रमणका कारण तिन दिन यता दुई पुरुष र एक महिला सहित ३ जनाको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्ने मुख्यद्वार वीरगन्ज फेरि एक पटक कोरोना संक्रमणको जोखिममा परेको छ । छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर वीरगञ्जमा पर्ने र विगतमा जस्तै फेरि वीरगन्ज कोरोनाको हटस्पष्ट बन्ने आशंका यहाँका चिकित्सकले गरेका छन् ।गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यतिबेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको भएपनि महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा फेरि समस्या पर्ने उत्तिकै जोखिम देखिएको छ ।

गत वर्ष नारायणी अस्पताल, गण्डक अस्पताल, वीरगञ्ज हेल्थ केयर र नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर व्यवस्था गरेका थिए । तर अहिले नारायणी अस्पतालमा ३५ बेडको आइसोलेसन बाहेक अरु कुनै पनि आइसोलेसन सञ्चालनमा छैन । वीरगन्जमा शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ । १ सय १४ जना होम आइसोलेसनमा छन् ।

चैत ३१ गते पोजेटिभ आएका २५ जना होम आइसोलेसन वा अस्पताल बस्ने भन्ने टुंगो लागेको छैन ।नारायणीको आइसोलेसनमा आएका १५ जनामध्ये ५ जना डिस्चार्ज भएका छन् । ३ जनाको मृत्यु भएको छ भने ७ जना अहिले पनि अस्पतालमै उपचाररत रहेको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्