नयाँ वर्षमा अपेक्षा



हिजोदेखि नयाँ वर्ष २०७८ सुरु भएको छ । नेपाली समाजमा नयाँ वर्षले ठूलो महत्व राख्छ । सम्बत फिर्ता भाग्य फिर्ने, दिनदशा बदलिने र सकारात्मक परिवर्तन हुने अपेक्षा राखिन्छ ।

व्यक्तिगत, पारिवारिक, सामाजिक र नीतिगत स्तरमा समेत सकारात्मक परिवर्तनको सपना देख्ने गरिन्छ । जीवनलाई सहज र क्रियाशील बनाइराख्न यस प्रकारको व्यवहार र चिन्तन आवश्यक पनि हुन्छ ।धेरै अपेक्षा कोरोना महामारी वरिपरि घुमेका छन् यतिबेला । २०७६ सालमा चीनबाट भित्रिएको कोरोना संक्रमणले २०७७ सालसम्म पुग्दा विश्वव्यापी रुपमा महामारीको रुप लियो । यस अवस्थाले नेपाल र नेपालीलाई चार महिना पूर्ण रुपमा बन्दी बनायो । स्वास्थ्य क्षेत्रमा कोरोना माहामारीले केही सकारात्मक काम पनि ग-यो । अनुमान गरेभन्दा छिटो सरकारले कोभिड विरुद्धको खोप नेपालमा ल्याउन सफल भयो । तर कोरोना संक्रमणको नियन्त्रण सरकार एक्लैले गरेर सम्भव छैन भन्ने विषयमा जनमानसमा चेतनाको अभाव देखियो ।

स्वास्थ्यकर्मीमा जुन स्तरको मनोबल बढाउनु आवश्यक थियो, त्यो भएन । गत वर्ष सरकारले स्वास्थ्यकर्मीलाई दिएको आश्वासन पूरा गरेन, उनीहरुको उच्च मनोबलका लागि भूमिका खेल्न सकेन । सरकारले जनमानसलाई मात्र होइन स्वास्थ्यकर्मी, कर्मचारीलाई झुक्याएर काम गरायो । जो सरकारका लागि सुहाउने विषय होइन । नेपालमा सरकारी स्वास्थ्य सेवा नै उपयुक्त र विश्वसनीय भएको कुरा कोरोना संक्रमणको अवधिमा मात्र नभै भूकम्पको जोखिममा पनि प्रमाणित भएकै हो । सरकारले सरकारी स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ ३ सय ९६ आधारभूत अस्पताल स्थापना गर्नुका साथै ६ सय ४९ अस्थायी अस्पतालको निर्माण गर्नु सकारात्मक र समयसापेक्ष काम हो । सरकारले संघीय अस्पताललाई पाँच सय बेडमा परिणत गर्ने, प्रदेश स्तर अस्पताल २ सय र जिल्ला स्तरका अस्पताललाई कम्तीमा ५० बेडमा विस्तार गर्ने अभियानलाई तीव्रता दिने जो भनियो, त्यसअनुसार काम भने हुनसकेको देखिएन । यद्यपि कोरोनाको महामारीबाट पाठ सिकेर नेपाल सरकारले संघमा ३ सय बेडको सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गर्नु सकारात्मक पक्ष हो ।

तर एकाएक कोरोना महामारी विश्वमै फैलिएपछि एक वर्षको अन्तरालमा सरुवा रोग कोरोना महामारीका कारण १३ करोड ७२ लाख मानिस संक्रमित हुनुका साथै २९ लाख ५६ हजार ६ सय २१ जनाले २०७७ चैत्र ३१ गतेसम्म ज्यान गुमाइसकेका छन् ।यस्तो महामारीलाई सरकार एक्लैले मात्र सम्बोधन गर्न सक्तैन । तर आम नागरिकलाई जसरी जिम्मेवार बनाउँदै अघि बढ्ने नीति ल्याउनु पथ्र्यो, त्यसो गरेको पनि देखिन्न । नयाँ वर्षसँगै सबैमा नयाँ उर्जा आउनु भने आवश्यक छ । वैशाख १ गतेका दिन प्रधानमन्त्री केपी ओलीले खुला सम्बोधन गर्दै विगत वर्षमा भएका काम र उपलव्धिको लामो सूची प्रस्तुत गर्नुभएको छ । आम नागरिकमा आशा जगाउन यस्ता सूची स्वागतयोग्य छन् । तर, त्यस सूचीले सन्तुलन कायम गर्न भने सकेको देखिन्न । योजनामा राखिएका तर पूरा गर्न नसकेका कामको सूची पनि त चाहियो नि !

प्रतिक्रिया दिनुहोस्