राजदूत पाण्डेद्वारा एक वर्षपछि ओहोदाको प्रमाणपत्र प्रस्तुत



कठमाडौं, (नेस)

चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी सम्हालेको करिब १ वर्षपछि चीनका राष्ट्रपति सी जिन पिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ ।

बेइजिङस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गरी बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा राष्ट्रपति सीसमक्ष राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको जानकारी दिएको हो ।

राजदूत पाण्डे वैशाख ५ गते चीनका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको हो । चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका बेलामा सरकारले चीनका लागि तत्कालीन राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर उहाँको स्थानमा पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई नियुक्त गरेको हो । पौडेललाई उहाँको ४ वर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी रहेको बेलामा १५ दिनको म्याद दिएर फिर्ता बोलाइएको हो ।

ओली पहिलोपटक प्रधानमन्त्री बनेका बेलामा पाण्डेलाई चीनमा पठाउने निर्णय भएको थियो । तर, त्यसपछि पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारले ओली सरकारको पालामा भएको निर्णय उल्ट्याएर पौडेललाई चीन पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्