एउटै इजलासमा १ सय ३८ थान मुद्दा

‘न्यायिक इतिहासमा नै पहिलोपटक’



विकास भट्टराई, काठमाडौं ।

एउटै इजलासमा १ सय ३८ थान मुद्दा सुनुवाइका लागि पेस भएको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गत सोमबार न्यायालयका इतिहासमा नै पहिलोपटक सर्वोच्च अदालतमा यति धेरै मुद्दा सुनुवाइका लागि पेस भएको हो ।न्यायाधीशहरू हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा सुनुवाइका लागि १ सय ३८ थान मुद्दा पेस भएका हुन् । सो इजलासमा क्रम संख्याका रूपमा क देखि ज्ञ सम्म, अ देखि अः सम्म, क १ देखि ङ १ सम्म, १ देखि २५ सम्म र लगाउको समेत गरी १ सय ३८ थान मुद्दा पेस गरिएको थियो ।

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार वरिष्ठ अधिवक्ता श्रीप्रसाद पण्डितले एउटा इजलासमा यति धेरै संख्यामा पेसी तोकिनु न्यायिक इतिहासमा नै पहिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले बुझेसम्म एउटा इजलासमा यति धेरै संख्यामा सुनुवाइका लागि मुद्दा तोकिएको छैन । केही दिनअघि पनि एउटै इजलासमा सामान्यभन्दा धेरै मुद्दा तोकिएको थियो, तर यति धेरै भने होइन ।’ सो दिन उक्त इजलासमा एउटा मुद्दा पनि सुनुवाइ हुन सकेन ।

सर्वोच्चका एक कर्मचारीले प्राविधिक कारणले कुनै पनि मुद्दा सुनुवाइ हुन नसकेको बताए ।साप्ताहिक कजलिस्ट बनाउँदा न्यायाधीशको संख्या हेरेर बनाइने आफ्नो अनुभव सुनाउँदै पूर्वरजिस्ट्रार तथा वरिष्ठ अधिवक्ता पण्डितले कुनै न्यायाधीश सम्बन्धित दिनमा अचानक अनुपस्थित हुँदा कहिलेकाहीं एउटै इजलासमा धेरै मुद्दा गाभ्नुपर्दा यस्तो हुनसक्ने उल्लेख गर्नुभयो ।हाल सर्वोच्चमा मुद्दाको संख्या घट्नुको साटो बढ्दै गएकाले पनि इजलासमा धेरै मुद्दा सुनुवाइका लागि पेस गर्नुपर्ने अवस्था आउन सक्ने अवस्था रहेको छ । हाल सर्वोच्चमा झन्डै २८ हजार मुद्दा विचाराधीन अवस्थामा रहेका उल्लेख गरिएको छ ।

कोभिडका कारण न्यायमा कठिनाइ: प्रधान न्यायाधीश राणा

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जवराले कोभिड–१९ को संक्रमणले न्यायको पहुँचमा समेत केही कठिनाइ भएको जिकिर गर्नुभएको छ । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश राणाले भन्नुभयो– ‘कोभिड–१९ को संक्रमणले सार्वजनिक सेवा प्रवाहलाई समेत प्रभावित गरेको र न्यायको पहुँचमा समेत स्वभावतः केही कठिनाइ भएका छन् ।’नेपालमा हाल देखापरेको वायु प्रदूषणले मानिसहरूको दैनिकी र जनस्वास्थ्यमा गम्भीर असर पुग्न गएको उल्लेख गर्दै प्रधानन्यायाधीश राणाले स्वस्थ्यतापूर्वक बाँच्न पाउनु मानवको नैसर्गिक अधिकार भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्