नयाँ वर्षको शुभकामना



पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त बनायो । संक्रमणका कारण लाखौं मानिसले अकालमा ज्यान गुमाउनुप-यो भने करोडौंमा यो भाइरसले आक्रमण ग-यो । भाइरसका कारण विश्वको अर्थतन्त्रलाई तहसनहस बनायो भने हजारौं कलकारखाना बन्द हुन पुगे । लाखौं श्रमिकले रोजगारी गुमाउन बाध्य भए । यसको प्रभाव पनि नेपालमा नराम्रोसँग प-यो । कोरोना संक्रमणका कारण मुलुकको विकास निर्माण प्रभावित भयो भने सरकारले घोषणा गरेको लक्ष्यमा गम्भीर धक्कासमेत लाग्यो । कोरोना संक्रमणका कारण २०७७ सालभर लाखौं मानिस बेरोजगार भए भने बिहान बेलुका छाक टार्नसमेत मुस्किल परेको थियो ।

सरकारले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसक्दा बितेको वर्षमा ३ हजार बढी मानिसले ज्यान गुमाउन बाध्य भए, २ लाख ८० हजार हाराहारीमा नेपाली कोरोना संक्रमित हुन बाध्य भए । यही संक्रमणका कारण मुलुकको आर्थिक अवस्था कमजोर हुन पुग्यो भने लामो लकडाउनका कारण मानिसमा मनोवैज्ञानिक त्रास उत्पन्न हुनुका साथै मानसिक रोगीको संख्या यो अवधिमा ह्वात्तै बढेको देखिएको छ । कोरोना संक्रमणका साथै नेपाली राजनीतिमा समेत हलचल आयो । सत्तारूढ दल नेकपाभित्रको विवादले संसद् विघटनसमेत हुन पुग्यो । भलै सरकारको असंवैधानिक कदमलाई अदालतले सच्यायो र विघटित प्रतिनिधिसभा पुनःस्थापना पनि भयो । राजनीतिकरूपमा हेर्ने हो भने बितेको वर्ष सफल हुन सकेन । अदालतको निर्णयले एकीकृत भएका राजनीतिक दल बाध्य भएर विभाजन भए ।मुख्य प्रतिपक्षी दलभित्रको विवादका कारण संसद्मा उसले प्रतिपक्षीको भूमिका समेत निभाउन सकेन । प्रतिपक्षीको लाचारीपनका कारण राज्य जनताप्रति उदासीन हुँदै गयो । प्रधानमन्त्री केपी ओलीमा आफू सत्तामा भए ठीक नभए बेठीक भन्ने महत्वकांक्षा पलाउँदै गएको देखिन्छ ।

आफ्नै पार्टीका नेताका कारण प्रधानमन्त्री ओलीमा तानाशाह प्रवृत्ति पलाउँदै गयो । संविधानमा व्यवस्था नै नभएको धारा प्रयोग गरेर प्रधानमन्त्रीले संसद् विघटनसमेत गरे । राजनीतिमा आएको आरोह–अवरोहले नेपाली जनता दिग्भ्रमित हुन पुगे । विदेशी सहयोगमा टिकेको नेपाली अर्थतन्त्रमा सहयोग रोकिँदा गम्भीर धक्का लाग्न पुग्यो । समग्ररूपमा हेर्दा २०७७ उत्साहजनक देखिएन । विभिन्न खाले अवरोधले राज्यको विकास निर्माणमा धक्का लाग्यो । बितेको वर्षको तीतो अनुभवलाई ध्यान दिँदै आउने नयाँ वर्षमा मुलुकलाई अग्रगतिमा लैजाने प्रण सबै क्षेत्रबाट हुन जरुरी छ । नयाँ वर्षले नयाँ उमंग ल्याउने भएकाले सबै मिलेर मुलुक निर्माणमा जुट्नुपर्ने देखिन्छ । विगतका नराम्रा कामलाई बिर्सिएर नयाँ जोस र जाँगरका साथ अगाडि बढ्न सके सबैको भलो हुने देखिन्छ । नयाँ वर्षको यही शुभकामना सबैको जय होस् ।

प्रतिक्रिया दिनुहोस्