काठमाडौं उपत्यकामा तीन जात्राको संयोग



अच्युतप्रसाद पौडेल ‘चिन्तन’

 नववर्ष प्रवेशसँगसँगै काठमाडौं उपत्यकामा प्रमुख तीन जात्रा मनाइन्छ, जुन जात्राहरु यहाँका प्रसिद्ध जात्रामा पर्छन् । ती हुन्– (१) बिस्केट जात्रा, (२) ठिमी जात्रा (भक्तपुर) र (३) सपनतीर्थ मेला (काठमाडौं) ।

बिस्केट जात्रा:
वैदिक र तान्त्रिक दुवै मङ्गल सूचक, वीरताको प्रतीक वृषकेतु, विश्वध्वजा नामले परिचित हरिया एवं लामा ध्वजा फहराई भक्तपुरका विभिन्न क्षेत्रलगायत ठिमी, बोडे र काठमाडौंका भद्रकाली, हाँडीगाउँ, टोखा एवं अन्य क्षेत्रका नेवार जातिहरुका लागि विशेष प्रसिद्धि पाएको बिस्केट जात्रा प्रत्येक वर्ष चैत्र मसान्तदेखि वैशाख १ गतेसम्म धूमधामका साथ मनाइन्छ ।काठमाडौं उपत्यका जात्रा–पर्वको लागि निकै प्रसिद्ध स्थान हो । यसको आफ्नै मौलिक इतिहास र विशेषता छ । भक्तपुर क्षेत्रमा प्रख्यात बिस्केट जात्रामा काठमाडौंको इन्द्रजात्रा र ललितपुरको मत्यस्येन्द्रनाथ जात्राझैँ लिङ्गो ठड्याउने र ढाल्ने काम गरिन्छ । विशेष तन्त्रविद्यामा आधारित बिस्केट जात्राले पुरानो वर्षको अन्त्य र नयाँ उत्साह एवं ऊर्जाशील जीवनको संकेत दिन्छ ।विक्रम संवत्का नयाँ प्रवेशसँगै लिङ्गो उठाउने परम्परा कहिलेदेखि आरम्भ भएको भन्ने यकिन गर्न नसकिए पनि वि.सं. ६६१ ताका शिवदेव एवं मानदेवको समयदेखि आरम्भ भएको हुन सक्ने अनुमान छ । कारण त्यति बेला यससम्बन्धी गुठीको व्यवस्था भएको चर्चा इतिहासमा भेटिन्छ । झन्डै ५५ हात अग्लो लिङ्गो सालको काठको हुने गर्छ । चैत्र मसान्तमा उठाइन्छ र वैशाख १ गते ढालेर उत्साहपूर्वक जात्रा मान्ने चलन सदियौँ पुरानो भइसकेको छ ।प्राचीन समयमा विजयोत्सवको रुपमा मान्ने चलन चलेको बिस्केट जात्राका विषयमा विभिन्न किंवदन्तीहरु रहेको पाइन्छ । काठमाडौंको शिवपुरी क्षेत्रमा रहेकी वज्रयोगिनीको आशिर्वादसमेत रहेको भनिने बिस्केट जात्रा भक्तपुरको एक मौलिक, ऐतिहासिक र सांस्कृतिक धरोहर नै हो ।

ठिमी जात्रा :
भक्तपुरको सांस्कृतिक पर्व बिस्केट जात्रासँग भक्तपुरकै ठिमी जात्रा पनि प्रत्यक्षतः जोडिएको छ । त्यसो त बालकुमारी, महालक्ष्मी, हरिसिद्धिलगायत भक्तपुरकै गणेश, बाराही आदि देवी–देवताहरुलाई भिन्न–भिन्न खटमा राखेर एकसाथ भक्तपुरमा परिक्रमा गराउने ऐतिहासिक परम्पराले पनि बिस्केट जात्रासँग सरोकार राख्छ । वर्षको अन्त्य चैत्र मसान्तदेखि आरम्भ भई तीन दिनसम्म चल्ने सो जात्रा वैशाख २ गतेसम्म सञ्चालन हुने गर्छ ।ठिमीको यो जात्राको मूल रमाइलो पक्ष भने २ र ३ गते दुई दिन बढी हुने गर्छ । घर–घरमा भोज गर्दै सम्पूर्ण देवदेवीलाई मन्दिरबाट बाहिर निकाली पूजाआजा गरिन्छ । वैशाख १ गते मन्दिरबाहिर पूजा, दर्शन, प्रसाद वितरण गरी भोलिपल्ट २ गते बिहानै सम्पूर्ण देवदेवीहरुलाई पंक्तिबद्ध गरी राखिन्छ । अगाडिपट्टि बालकुमारीको खट र सबैभन्दा पछाडि गणेशको खट राखिन्छ । संख्यामा देवदेवी ३२ हुने र स्थान भ्रमण गराइने हुनाले ३२ लक्षणले युक्त मानव स्वरुपको संकेत देखिन्छ । बालकुमारीस्थानबाट शुरु भएको यो जात्रा अबीर, लावालस्कर जात्रा गर्दै दूधपोखरीनजिक दरबारमा देवदेवीलाई थन्क्याएपछि जात्राले विश्राम लिन्छ ।यसपछि भक्तपुर ठिमी क्षेत्रमा अझ लामो जात्रा फेरि शुरु हुन्छ, त्यो हो जिब्रो छेड्ने जात्रा । यो भक्तपुरको बोडेमा हुन्छ । बोेडेमा शुरु हुने जिब्रो छेड्ने जात्राभन्दा ४ दिनपहिले नै जिब्रो छेडाउन चाहनेले सात्विक भावमा रहनुपर्ने हुन्छ । जिब्रो छेडाउनेले वीरताको संकेत प्रदर्शन गर्छ भने आफूलाई दैवी शक्ति प्राप्त गरी अगाध पुण्य प्राप्त हुने विश्वास राख्दछ । सुइरोद्वारा जिब्रो छेडिएपछि खटमा राखी उसलाई ठिमी बजारको परिक्रमा गराइन्छ ।धेरै समयअघि असुरहरुले ठिमीवासीलाई दुःख दिँदा तान्त्रिक बालकुमारीले सपनामा दर्शन दिँदै मानिसलाई जिब्रो छेड्ने पराक्रम प्रदर्शन गरेमा दैत्य-असुरहरुले दुःख नदिने र आफ्नो पुरुषार्थको पहिचान पनि हुने भनेकीले यस्तो परम्परा शुरु भएको किंवदन्ती छ । शुरुमा यस्तो पर्व वैशाख २ गते परेकाले परम्परा कायमै रहेको देखिन्छ । ठिमीमा जात्रा सकेर महालक्ष्मी मन्दिरमा गई जिब्रोको सुइरो झिकी जात्रालाई पूर्णता दिइन्छ ।यसो गर्दा शरीरमा खासै कष्ट नहुने, जिब्रो छेड्ने व्यक्ति बोडेको नेवार समुदायको हुनुपर्ने, नाइकेलाई चार दाम चढाएपछि जिब्रो छेडाउन पाइने, जिब्रो छेड्न आधा फिट लामो फलामे सुइरो प्रयोग गरिने र १ महिनाअघिदेखि यो सुइरोलाई तेलमा डुबाएर राखिने हुँदा जिब्रो छेडिने व्यक्तिलाई साह्रै कष्ट पनि नहुने अनि घाउ पनि छिटो निको हुने विश्वास रहेको छ । भक्तपुर क्षेत्रको ठिमीको यो परम्पराले मुलुककै इतिहासलाई संकेत गरेको छ । यसो गर्दा मुलुुकभरि दुर्भिक्ष नुहने, महामारीजस्ता घातक रोगहरु नहुने विश्वास गरिन्छ ।

सपनतीर्थ मेला :
हरेक वर्ष वैशाख १ गते मुलुकमा सबैजसो क्षेत्रमा धार्मिक, सांस्कृतिक कार्यहरु भई नै रहन्छन् । काठमाडौंको उत्तर क्षेत्र टोखामा यसै दिन विशेष मेला लाग्ने पर्व हो सपनतीर्थ । शिवपुरी क्षेत्रको टोखा बस्तीनजिकै खोलाको दोभानमा वैशाख १ गतेका दिन स्नान गरे शरीरमा चर्मरोग नलाग्ने विश्वास गरिन्छ । यस दिन यहाँ स्नान गर्न जानेहरुको विशेष भीड नै हुन्छ । सपनतीर्थको नामले मेला भर्न धेरै श्रद्धालुहरु बाग्द्वार, विष्णुमतीको विष्णुपादुका आदि क्षेत्रसम्म पुग्छन् ।मेष संक्रान्तिका दिन यहाँ स्नान गरेको एक व्यक्तिले लामो चर्मरोग निको पार्न सफल भएको र यसो गर्न सपनामा अलौकिक सन्देश प्राप्त भएको भनिएको कारण यस क्षेत्रको नाम सपनतीर्थ हुन गएको किंवदन्ती भेटिन्छ । यसै सेरोफेरोमा नजिकै बालाजुमा चैत्र शुक्ल पूर्णिमाका दिन बाइसधारा स्नान गरी पुण्य लाभ गर्ने दिन भएकाले यस क्षेत्रमा निकै चहलपहल देखिने गर्छ ।

प्रतिक्रिया दिनुहोस्