कोभिड–१९ को फेरि सन्त्रास



नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्ने देखिएको छ । यसैलाई ख्याल गरी सरकारले तीन दिनअघि रेस्टुरेन्ट र रात्रिकालीन व्यवसाय बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । विद्यालयहरु बन्द गर्नुपर्ने आवाज आइरहेका छन् । प्रधानमन्त्रीले नै गत शुक्रबारको एक कार्यक्रममा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने बताउनुभएको छ ।

उहाँले आवश्यक परे लकडाउन पनि हुन सक्ने चेतावनी पनि दिनुभएको छ । छिमेकी मुलुक भारतमा सो भाइरसको संक्रमण भयावह भइसकेको छ । त्यसको प्रभाव नेपालमा अत्यधिकरूपमा परेका धेरै उदाहरणहरु देखिइसकेको छन् । त्यसैलाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी उपस्थित भई भीडभाड नगर्ने गरी व्यवस्था गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई सिफारिस पनि गरेको छ । हालको संक्रमण पहिलेको भन्दा कडा भएको र कोभिड–१९ को विशेष खालको भाइरस भएको पनि बताउन थालिएको छ । यसले विशेष गरी बालबालिकालाई पनि आक्रमण गरेको सम्बन्धित विज्ञहरुले बताएका छन् । यस्ता खालका भाइरसबाट केही दिनअघि मात्र विद्यालयका बालबालिका शिकार भएका समाचारहरु आएका थिए । यस्ता गतिविधिबाट नेपालमा सचेतता नअपनाउने हो भने डरलाग्दो स्थिति आउने आँकलन गर्न सकिन्छ ।

कोभिड–१९ को संत्रासबाट बढी मात्रामा निजी क्षेत्र बढी आतंकित भएको छ । एक वर्षअघि मात्र थलिएको निजी क्षेत्रले फेरि पनि सोही अवस्था भोग्नुपर्ने हो कि भन्नेमा चिन्तित बन्नुपरेको छ । प्रधानमन्त्रीले नै लकडाउनको संकेत दिएपछि निजी क्षेत्रमा लगानी गर्नेहरुमा त्रास फैलिनु स्वभाविकै हो । गत वर्षको चैत ११ गतेदेखि लकडाउन खेपेको मुलुकको व्यापार व्यवसाय ठप्प भएको थियो । त्यति बेला निकै मर्कामा परेको निजी क्षेत्र अब फेरि सोही अवस्थाको कल्पना गर्दा पनि त्रसित भएका छन् । गत वर्ष पहिलो चरणमा सरकारले चैत महिनामा लकडाउन गरेको थियो । त्यसपछि पटक–पटक गरी मुलुकको प्रायः हरेक क्षेत्रमा लकडाउन भएको थियो । यसो भएपछि निजी क्षेत्रले आफ्ना कर्मचारीलाई तलब भत्ता खुवाउन पनि धौ–धौ परेको थियो ।

जीवन गुजारा चलाउन नै आपत् भएपछि कतिपय व्यापारीले लकडाउन तथा निषेधाज्ञा उल्लंघन गरी आफ्ना व्यापार व्यवसाय तथा उद्योग खोलेका थिए । लकडाउन तथा निषेधाज्ञाले त दैनिक कार्य गरेर गुजारा चलाउनेहरु झन् बढी मारमा परेका थिए । उनीहरुलाई सरकारले केही राहात दिएको भए पनि पर्याप्त नहुनु तथा त्यस्ता व्यक्तिको पहिचान हुन नसक्दा त्यति बेला समस्या परेको थियो ।अब पुनः त्यस्तो अवस्था आउन नदिन सबै जना सचेत हुनैपर्छ । सबै सचेत भएर सुरक्षा शतर्कता तथा सावधानी अपनाउने हो भने त्रसित हुन आवश्यक छैन । आफू कति सुरक्षित छु भनेर सर्वसाधारणसमेतले ख्याल गर्ने हो भने परिस्थिति त्यति बिग्रन सक्दैन । के गर्दा कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ भन्नेमा प्राय सबैलाई ज्ञान भएको अवस्था छ । यसैलाई पालना गर्नु सबैको कर्तव्य तथा दायित्व हो । सरकारले के भन्छ भन्दा पनि हामी आफूले के गर्दा सो भाइरसबाट जोगिन सकिन्छ भनेर सोच विचार गरी सोहीबमोजिम सजग हुनुपर्छ । यसो गर्न सकियो भने भयावहको स्थिति आउन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्