एकसाथ सात भिडियो सार्वजनिक



इन्द्रेणी सांस्कृतिक समाज (इसास) कीर्तिपुरद्वारा शनिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमबीच कीर्तिपुरकी गायिका मीनाकुमारी महर्जनको एकल स्वर रहेको विभिन्न सात गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गायिका महर्जनको एकल स्वर रहेको ७ गीतको म्युजिक भिडियो प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सार्वजनिक गरेका हुन्। महर्जनले गायिका महर्जनलगायत कीर्तिपुरका कलाकारबारेको एउटा अभिलेख तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा सार्वजनिक गरिएका गीतहरूमा शम्भुराम महर्जन, प्राडा चन्द्रमान बज्राचार्य, लोककवि राजभाइ जकःमि, जनकवि दुर्गालाल श्रेष्ठ, चन्देश्वर महर्जनलगायतको रचना रहेको छ भने गुजे मालाकार, सन्तोष महर्जन, तीर्थ मालिलगायतले संगीत दिएका छन्। म्युजिक भिडियोको निर्देशन पवन जोशी र ललेन्द्र शाक्यले गरेका छन्।

कार्यक्रमका आयोजक इन्द्रेणी सांस्कृतिक समाज (इसास) का अध्यक्ष वीरप्रसाद भन्सालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगीतज्ञ अमरराज शर्मा राजोपाध्याय र साहित्यकार एवं सञ्चारकर्मी मीना बज्राचार्यले म्युजिक भिडियोहरुको समीक्षा गरेकी थिइन् भने पत्रकार विजयरत्न असम्बरेले सार्वजनिक गीत र म्युजिक भिडियोबारे चर्चा गरेका थिए। गायिका दीपा महर्जनले सञ्चालन गरेको कार्यक्रममा प्राडा चन्द्रमान बज्राचार्यले पनि गीत–संगीतबारे चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्