तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक ढकाल सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं । 

हालै दिलीप स्मृति प्रतिष्ठानले नेपाली खेलकुदमा योगदान दिएका खेलकर्मीहरूलाई सम्मान गरेको छ । प्रतिष्ठानले अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका दीपेन्द्र ढकालसहित तेक्वान्दोका आयशा शाक्य, अशोक खड्का र मनोज खड्गी तथा करातेका मन्डेकाजी श्रेष्ठलाई सम्मान गरेको हो । यसमध्ये तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक ढकालले खेलमा गरेको योगदानको मूल्यांकन भइरहेकोमा खुशी व्यक्त गरेका छन् ।

निर्णायक ढकाल आगामी वैशाख २ गते स्पेनिस ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायक भूमिका गर्न जाादै छन् । यसका लागि उनको कोरोना परीक्षण भएको छ र यसको नतिजा नेगेटिभ आएमा उनी स्पेनिस ओपनमा निर्णायक भूमिका गर्न जान पाउनेछन् । ढकालले नेपाल समाचारपत्रलाई बताए—‘कोरोना परीक्षण भइरहेको छ । यसको नमुनाको नतिजा नेगेटिभ आएमा मेरो लागि स्पेन जाने तय हुनेछ ।’कोरोनाले गर्दा ढकालको दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायक बन्न ढिलो भइरहेको छ । दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णयक बन्न उनलाई मात्र ४ अंक आवश्यक छ । अमेरिका, क्यानडामा सहभागी हुनुपर्ने तर, कोरोना र लकडाउनले गर्दा उनले उपस्थिति जनाउन सकेनन् । उनले बताए– ‘कोरोनाकै कारण मैले विश्व तेक्वान्दो प्रतियोगितामा सहभागी जनाउन सकिरहेको छैन । अहिले स्पेनमा सहभागीता जनाउन पाएमा मलाई १ अंक प्राप्त हुनेछ । यसपछि जुनमा मेरो यात्रा लक्जेमबर्गमा हुनेछ । हेरांै के हुन्छ ? कोरोना बढेको छ फेरि ।’

ढकालले गत अक्टोवरमा विश्व तेक्वान्दो अन्तर्राष्ट्रिय क्योरुगी रेफ्री रिफ्रेसर कोर्स उत्तीर्ण गरेका थिए । उक्त कोर्समा ३३ राष्ट्रबाट दुई सय नौ जना निर्णायकको सहभागिता रहेको थियो । जसमा नेपालतर्फ सुरक्षा निकायबाट उनी एकजना मात्रै सहभागी भएका थिए । यस्तै, नेपालको सुरक्षा निकाय (सेना, प्रहरी र शसस्त्र) मा उनी एक्लो अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायकसमेत हुन् ।ढकालको लक्ष्य एउटै छ, त्यो हो ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गर्ने । ओलम्पिकमा निर्णायक बन्न धेरैभन्दा धेरै प्रतियोगितामा निर्णायक हुन आवश्यक छ । तर, कोरोनाले गर्दा उनले विश्वका धेरैजसो प्रतियोगितामा सहभागिता हुन वञ्चित हुादै आएका छन् । उनले निरास हुादै बताए– ‘ओलम्पिकमा निर्णायक बन्ने लक्ष्य छ । हालको अवस्थालाई हेर्दा यो लक्ष्यमा पुग्न ढिलाइ हुने देखिएको छ । यसका लागि विश्व वरीयताका खेल धेरै खेलाउनु आवश्यक छ । कति प्रतियोगिता रद्द भएका छन् । कति प्रतियोगिता स्थगित भएका छन् । यसले गर्दा निकै गाह्रो पो हुादै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्