बीपी स्टडी युथ सर्कल गठन



बुटवल, (नेस) ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ‘बिपी स्टडी युथ सर्कल’ गठन गरिएको छ ।सोही अभियानअन्र्तगत रूपन्देहीको शुद्धोधन गाउँपालिकामा बीपी स्टडी युथ सर्कल शुद्धोधन गाउँसमितिले पदभार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकामा प्रदीप चौधरीको अध्यक्षतामा बिपी स्टडी युथ सर्कलको १७ सदस्यीय गाउँ समिति गठन भएको छ ।

नवगठित समितिको पदभार तथा सम्मान कार्यममा नेपाली कांग्रेसका नेता एवं संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एसियाका दुई ठूला राष्ट्रहरू भारत र चीनबीच रहेर पनि नेपाललाई आफ्नो बेग्लै अस्तित्व कायम राख्दै विश्वका सामु परिचित गराउन बीपीको ठूलो योगदान रहेको बताउनुभयो ।बिपीका नाममा गठित सर्कलका पदाधिकारी र सदस्यहरू बीपीका विचार र योगदानका बारेमा जानकार हुनुपर्नेमा जोड दिँदै पूर्वमन्त्रीसमेत रहनुभएका शाहले शिक्षित र क्रियाशील युवाहरूलाई सर्कलमा आबद्ध गराउन सुझाब दिनुभयो ।नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने जननायक बीपी कोईरालाको नेतृत्वमा बनेको नेपाली कांग्रेसको सरकारले क्रान्तिकारी भूमि सुधार, किसानहरूको अधिकारको संरक्षण, जमिनको हदबन्दी, जमिनदारी प्रथा एवम् बिर्ता उन्मूलनलगायतका कार्यहरू शुरू गरेको नेता शाहले बताउनुभयो ।

सर्कलका गाउँ समिति अध्यक्ष प्रदीप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सर्कलका लुम्बिनी प्रदेश अध्यक्ष लक्ष्मण गौतमले रूपन्देही जिल्लामा दुई सय बढी युवाहरू सर्कलमा आबद्ध भइसकेका, १२ वटै जिल्लामा सर्कलको समिति विस्तार गरिएको तथा छिटै सैनामैना र बुटवलमा बृहत् भेलाको तयारी भइरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्