स्पेनको संसद भवनभित्र बुद्ध दर्शनको चर्चा हुनु गर्वको विषय हो : अध्यक्ष तिमिल्सिना



दीपेन्द्र गजुरेल, स्पेन ।

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्पेनको ऐतिहासिक प्रान्त ‘एक्स्त्रेमादुरा प्रदेश’स्थित संसद भवनभित्रबाटै बुद्ध दर्शनको सन्देश बारेमा महत्वपूर्ण विचार विमर्श हुनु भनेको नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताएका छन् ।

संसदमा सम्बोधन गर्दै तिमिल्सिनाले शान्तिका अग्रदुत बुद्धको सन्देशलाई विश्वभर फैलाउने उदेश्यसहित स्पेनको संसद भवनभित्रबाटै भएको सो कार्य सह्रानिय भएको जनाउँदै स्पेनमा बन्ने लुम्बिनी गार्डेन परियोजनामा सहयोग गर्न नेपाल सरकार पुर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् । एक्स्त्रेमादुरा प्रादेशिक संसद भवनमा ४० मिनेट लामो सम्बोधनका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल सरकारका तर्फबाट यो परियोजनाका लागि कुनैपनि समय हातेमालो गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तिमिल्सिनाले काथेरेस शहरबाट नमुना परियोजनाका लागि लुम्बिनी गार्डेन फाउन्डेसनसँग सहकार्य गरेकोमा एक्स्त्रेमादुराका मुख्यमन्त्री, क्याथेरेसका मेयरलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई नेपाल सरकारका तर्फबाट धन्यवाद समेत व्यक्त गरेका छन् ।

‘विश्व शान्तिका लागि यो आजको अवसर एउटा कोशेढुङ्गाको रूपमा स्थापित हुनेमा विश्वास छ’,  उनले भने ।

औपचारिक रुपमा कार्यक्रम उद्घाटन गर्दै तिमिल्सिनाले गौतम बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैल्याउन विश्वसमुदायलाई विशेष अनुरोध समेत गरेका छन् । कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई उपप्रधानमन्त्री कार्बेन काल्भोले स्वागत गरेकी थिइन् ।

उपप्रधानमन्त्री काल्भोले तिमिल्सिनासँग कुरा गर्दै स्पेनमा लुम्बिनी गार्डेन बनाउने परियोजनाले आफूहरु एकदमै नतमस्तक रहेको बताएको लुम्बिनी फाउण्डेशनका महासचिव एकराज गिरीले न्युज अफ नेपाललाई बताएका छन् । त्यस्तै, सोही अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट पिस कन्फ्रेन्स सुरु गरिएको महासचिव गिरीले बताएका छन् ।

विश्व सम्पदा सुचीमा सुचीकृत भएका साँस्कृतिक नगरपालिकाहरु लुम्बिनी र काथेरेसका नगर प्रमुखहरूले गत बर्ष नै भगिनी सम्बन्धमा हस्ताक्षर गरिसकेका छन् । कार्यक्रममा सहभागी बन्न राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँगै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, उपमेयर बिद्या लक्ष्मी गुरुङलगायतको नेपाली टोली मंगलबार म्याड्रिड आएको थियो । हाल सो टोलीले स्पेनको संघीय तथा प्रदेश सरकारका अधिकारीहरुसँग भेटवार्ता गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्